मङ्गलबार, २७ असोज २०८३
मङ्गलबार, २७ असोज २०८३ · मनोरञ्जन
काठमाडौं, असोज २७ । नेपाली चलचित्र 'हिमालयन गोल्ड' को ट्रेलर सार्वजनिक गरिएको छ । नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस 'सर्भाइभल' कथामा आधारित चलचित्र आगामी मङ्सिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ ।
दिग्गज अभिनेता सुनिल थापाको अभिनय रहेको यो अन्तिम चलचित्र समेत हो। दशकौँसम्म नेपाली सिनेमामा अमूल्य योगदान दिएर दर्शकको मनमा अमिट छाप छोडेका थापाको यो अन्तिम प्रस्तुतिलाई नेपाल र अन्तर्राष्ट्रिय बजारका दर्शकमाझ पु¥याउनु उनको भव्य विरासतप्रतिको सम्मान भएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय रहेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक धिराज राजवंशीले चलचित्रलाई निकै फरक हिसाबले निर्माण गरिएको बताए । “यसमा गीत छैन, तर यसको ब्याकग्राउन्ड म्युजिक एकदमै राम्रो छ, जसले दर्शकलाई फिल्ममा तान्छ। प्राविधिक रूपमा हामीले अन्तर्राष्ट्रिय टिमसँग काम गरेका छौँ,“ उनले भने ।
चलचित्र भारत, जापान र अस्ट्रेलिया लगायतका देशमा नेपाली भाषामै त्यहाँको सबटाइटलसहित प्रदर्शन हुनेछ । राजवंशीका अनुसार भारतको प्रतिष्ठित वितरक ’एए फिल्म्स’ले डबिङको विकल्प दिए पनि मौलिकता मर्न नदिन त्यसलाई अस्वीकार गरिएको हो । “डब गर्दा फिल्मको वास्तविक ’फिल’ आउँदैन र यसका लागि सही आर्टिस्ट चाहिन्छ । हामीले डबिङलाई अस्वीकार ग¥यौँ किनकि म केही ’युनिक’ कुरा र नेपालको मौलिकता विश्वमाझ देखाउन चाहन्थेँ,“ उनले प्रस्ट पारे ।
चलचित्रकी मुख्य अभिनेत्री परीक्षा लिम्बुले यो प्रोजेक्ट आफ्ना अघिल्ला चलचित्रभन्दा नितान्त फरक रहेको बताइन्। "मेरा पहिलेका फिल्महरु सोसल ड्रामा, फेमिली ड्रामा र लभ स्टोरी थिए । यसमा चाहिँ एउटा मानिसको जीवनबाट सबै कुरा खोसिँदा के बाँकी रहन्छ भन्ने ’सर्भाइभल स्टोरी’ छ," उनले भनिन्, "नेपालमा महिला प्रधान फिल्म कम बन्ने हुनाले यो फिल्म पाउनु आफ्ना लागि विशेष छ। सुटिङ चुनौतीपूर्ण भए पनि एकदमै सहज रूपमा सकियो ।"
त्यस्तै, अभिनेता कर्मा शाक्यले नयाँ निर्देशक र नयाँ आइडियामा काम गर्न आफू सधैँ उत्साहित हुने बताए । “यो फिल्मको स्क्रिप्ट नियमित बन्ने नेपाली फिल्मभन्दा धेरै फरक छ । अब महिलालाई मुख्य पात्र बनाइएका फिल्मको पनि बजार छ भनेर बुझ्नुभएकोमा निर्देशकलाई धन्यवाद दिन चाहन्छु,“ उनले भने ।
'हिमालयन गोल्ड' सम्पूर्ण भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने पहिलो नेपाली चलचित्र बनेको छ । मुम्बईमा भारतका शीर्ष वितरक तथा ’एए फिल्म्स’का संस्थापक अनिल थडानीसँग यसको औपचारिक सम्झौता भइसकेको छ । 'दिलवाले दुल्हनिया ले जाएंगे', 'बाहुबली', 'आरआरआर', 'केजिएफः च्याप्टर २', र 'पुष्पा' जस्ता ब्लकबस्टर चलचित्र वितरण गरेको यो कम्पनीले नेपाली चलचित्रलाई भारतभर पु¥याउन लागेको हो । एए फिल्म्सका संस्थापक थडानीले उत्कृष्ट कथावस्तुलाई भारतीय दर्शकमाझ पु¥याउने आफ्नो उद्देश्य रहेको बताएका छन् ।
चलचित्रका वितरक तथा निर्माता नकिम उद्दिनले अन्तर्राष्ट्रिय बजारमा चलचित्रको बलियो सम्भावना रहेको बताए । “भारतमा रिलिज गर्न एए फिल्म्सले मन पराएर सम्झौता भइसकेको छ । जापानसहित अरू देशमा पनि यसलाई मन पराइरहेका छन्,“उनले भने, “यस किसिमको फिल्मले अन्तर्राष्ट्रिय बजार पायो भने नेपाली चलचित्र उद्योग अझै अगाडि बढ्नेछ ।“