logo-image

आइतबार, ०७ भदौ २०८३

रुकुम पश्चिममा इभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

आइतबार, ०७ भदौ २०८३ · समसामयिक

रुकुम पश्चिममा इभी गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

 

रुकुम पश्चिम,  भदौ ७ ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विद्युतीय गाडी (ईभी) को ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।

आइतबार बिहान सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको ईभी गाडीको ठक्करबाट उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सार घर भई हाल लक्ष्मी सनराईज बैङ्क मुसिकोट खलंगामा कार्यरत घनश्याम ज्ञवालीकी श्रीमती २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार आमा–छोरी क.प्र.०२००१ ख १०७० नम्बरको फोर्स गाडी चढी मुसिकोटबाट सुर्खेततर्फ जाँदै थिए। बाटोमा दुई वर्षीया छोरीलाई शौचालय लागेपछि गाडी रोकेर बाटो काट्ने क्रममा सिम्लीबाट चौरजहारी जाँदै गरेको भे १ ज १४८२ नम्बरको ईभी गाडीले उनीहरूलाई ठक्कर दिएको थियो।

ईभी गाडीको ठक्करबाट गम्भीर घाइते भएका आमा–छोरीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको भए पनि बिहान ९:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिने ईभी गाडीका चालक सानीभेरी गाउँपालिका–३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा ट्राफिकसहित ११ जना र इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाँगीको कमान्डमा १३ जनाको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ।