शुक्रबार, ०८ साउन २०८३
शुक्रबार, ०८ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ८ । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको पछिल्लो अवस्था र सुधारका प्रयासहरूबारे जानकारी गराउनुभएको हो । प्रवक्ता क्षेत्रीकाअनुसार राहदानीको नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ । २०८३ असार २९ देखि शुरु भएको नयाँ प्रणालीमार्फत हालसम्म ८ हजार २ सय ६० थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ । हाल राहदानी विभागसहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ६ वटा इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ वटा (३१ नियमित र थप ८ वटा) नेपाली नियोगहरूबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । नयाँ प्रणाली कार्यान्वयनका क्रममा केही प्राविधिक समस्याहरू देखिएको स्वीकार गर्दै प्रवक्ता क्षेत्रीले ती समस्याहरूको समाधान प्राविधिक टोलीबाट भइरहेको बताउनु भयो । छापिएका राहदानीहरू सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूमा शिघ्र पु¥याउन मन्त्रालयले हुलाक विभागसँग कार्य सम्झौता गरिसकेको छ । यस व्यवस्थाले राहदानी वितरण प्रक्रियामा हुने ढिलाइलाई न्यूनीकरण गर्ने विश्वास लिइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय तथा मातहतको राहदानी विभाग प्रतिवद्ध छन् । राहदानी प्रणाली परिवर्तन भई २०८३ असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत प्रत्यक्ष (लाइभ) राहदानी आवेदन लिई राहदानी जारी गर्ने सेवा सञ्चालनमा आएको विषय यहाँहरूलाई जानकारी नै छ । हाल नयाँ प्रणालीमार्फत राहदानी विभाग, सबै ७७ जिल्ला प्रशासन कार्यालय, ६ इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोग र थप ८ नियोगबाट कुनै पनि समयमा इनरोलमेन्ट (भ्लचयििmभलत) गर्न सकिने व्यवस्था गरी सेवा सुचारु गरिएको छ। हालसम्म ८,२६० थान राहदानी छापिसकिएको छ । नयाँ प्रणाली सञ्चालनका क्रममा देखिएका केही प्राविधिक समस्या अपेक्षित नै हुन्। ती समस्याको समाधान सम्बन्धित प्राविधिक टोलीबाट निरन्तर भइरहेको छ र राहदानी सेवा छिट्टै पूर्ण रूपमा सहज र नियमित हुने अपेक्षा गरिएको छ । यस विषयमा यहाँहरूले गर्नुभएको सकारात्मक समाचार सम्प्रेषण र प्रचारप्रसारका लागि हार्दिक आभार व्यक्त गर्दछौँ । यसैगरी, छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा पु¥याउन हुलाक विभागसँग सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ । साथै, जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्था लागू गर्न आवश्यक प्रक्रिया शुरु भइसकेको विषयमा पनि हामी यहाँहरूलाई जानकारी गराइसकेका छौँ ।’
मन्त्रालयले राहदानी सेवामा थप सरलीकरण गर्दै अब नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाउन आवश्यक प्रक्रिया शुरु गरिसकेको जानकारी समेत दिएको छ । यसअघि स्थायी ठेगाना भएका जिल्ला वा काठमाडौंबाट मात्र आवेदन दिन सकिने प्रावधान रहेकोमा नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीलाई थप सहज हुनेछ । –न्युज एजेन्सी नेपाल