logo-image

शुक्रबार, ०१ साउन २०८३

प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति एमाले नेता महेश बस्नेतको तिखो टिप्पणी: मनोवैज्ञानिक परामर्श आवश्यक

आइतबार, २४ जेठ २०८३ · समसामयिक

प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति एमाले नेता महेश बस्नेतको तिखो टिप्पणी: मनोवैज्ञानिक परामर्श आवश्यक


काठमाडौं, जेठ २४ ।  नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो सामाजिक सञ्जालको अभिव्यक्तिलाई लिएर गम्भीर आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले मध्यरातमा आफ्नो फेसबुक पृष्ठमा लेखेको “मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न” भन्ने व्यंग्यात्मक स्टाटसप्रति टिप्पणी गर्दै बस्नेतले यसले पदको गरिमा र जिम्मेवारीमाथि नै प्रश्न उठाएको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बस्नेतले देशको कार्यकारी प्रमुख जस्तो उच्च पदमा रहेको व्यक्तिबाट सार्वजनिक रूपमा यस्ता केटाकेटी र व्यंग्यात्मक अभिव्यक्ति आउनु असोभनीय भएको उल्लेख गरे। नेता बस्नेतले मधेशकै एक वरिष्ठ कर्मचारीमाथि सोही व्यहोराको सन्देश पठाएको आरोपमा प्रहरीबाट दुर्व्यवहार भइरहेका बेला प्रधानमन्त्रीले त्यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुको सट्टा ओठे जवाफ दिएको आरोप लगाए।

उनले लेखेका छन्-

"अझ मधेशकै एक वरिष्ठ कर्मचारीमाथि सोही व्यहोराको एसएमएस लेखेबापत प्रहरीबाट दुर्व्यवहार भइरहेका बेला, त्यसलाई गम्भीर रूपमा सम्बोधन गर्नुको सट्टा 'आफू नै मधेसको छौरा हुँ' भनेर दाबी गर्ने व्यक्तिले यसरी व्यंग्य गर्नु अमानवीय कार्य हो।"

बस्नेतले प्रधानमन्त्री शाहको यो शैलीले परिपक्व नेतृत्वभन्दा पनि व्यक्तिगत असन्तुष्टि, आक्रोश र अत्यधिक अहम् (इगो) झल्काउने दाबी गरे। राज्य सञ्चालन गर्ने जिम्मेवार निकाय र व्यक्तिबाट संयम, जिम्मेवारी र संस्थागत मर्यादाको अपेक्षा गरिने भन्दै उनले व्यक्तिगत कटाक्षमा उत्रिनु राजनीतिक संस्कार विपरीत भएको टिप्पणी गरे।

प्रधानमन्त्रीको पछिल्लो व्यवहार र कार्यशैली सामान्य नभएको जिकिर गर्दै बस्नेतले थपे, "कहिलेकाहीँ यस्तो व्यवहारले बालेन अत्यधिक इगो हर्ट भएको व्यक्ति त हुँदै हो तर पछिल्लो उनको व्यवहारले उनलाई मनोवैज्ञानिक परामर्श गराउन आवश्यक चरणमा पुगेका हुन् कि भन्ने देखाउँछ।"

 

ताजा समाचार