आइतबार, १४ भदौ २०८३
बिहिबार, २६ चैत २०८२ · समसामयिक
ललितपुर, चैत २६ । ललितपुरको धापाखेलमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गर्ने पवित्र उद्देश्यका साथ आजदेखि 'स्वर्णिम श्रीमद्भागवत सप्ताह भक्ति अनुष्ठान' भव्य रूपमा सुरु भएको छ।
आज बिहान यज्ञस्थलबाट कलश यात्रा निकाल्दै आरम्भ गरिएको यस महायज्ञमा वैशाख ३ गतेसम्म हरेक दिन बिहान ७ बजे पूजा, ८ बजेदेखि पाठपारायण र ११ बजेदेखि साँझ ६ बजेसम्म आचार्य ओमप्रकाश सुवेदीबाट कथावाचन हुनेछ।
समितिका संयोजक देवकी शर्माका अनुसार महायज्ञ अवधिभर दैनिक दिव्य झाँकी प्रदर्शन र भक्ति संगीतका कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ। अनुष्ठानको समापनका दिन साँझ लक्ष्यदीप प्रज्वलनसँगै सामूहिक व्रतबन्ध, विवाह, ग्रह शान्ति, तुलादान र १००८ शालिग्राम पूजा अर्चना गरिने मुख्य संकल्पकर्ता मुमुक्षु उद्धव शर्मा हुमागाईँले जानकारी दिनुभयो।
महायज्ञबाट संकलन हुने सम्पूर्ण भेटी तथा दान-दक्षिणा व्यस्त जीवनशैलीमा रहेका ज्येष्ठ नागरिकहरूका लागि सुविधासम्पन्न दिवा सेवा केन्द्र स्थापनामा खर्च गरिने आयोजकले जनाएको छ।