logo-image

बुधबार, ०६ साउन २०८३

काठमाडौं महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने

बुधबार, ०६ साउन २०८३ · समसामयिक

काठमाडौं महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने

काठमाडौं, साउन ६ ।   काठमाडौं महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ ।
विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधवार काठमाडौं महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबीच सम्झौता भएको हो । सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गर्नुभयो । सम्झौतामा विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, मानव स्रोत सुदृढीकरण तथा दीर्घकालीन गुरुयोजनामार्फत विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको ‘नमूना विद्यालय’ बनाउने उल्लेख छ । सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महेन्द्र भवन र महानगरबीच भएको सहकार्य विद्यालयको शैक्षिक पुनर्जीवनको ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गर्नुभयो । विगतमा उत्कृष्ट शैक्षिक पहिचान बनाएको महेन्द्र भवनलाई पुनः उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्ने जिम्मेवारी महानगर र गुठी दुवैको रहेको उहाँको भनाई छ । उहाँले महेन्द्र भवनलाई ‘सेन्टर अफ एजुकेसन एक्सिलेन्स’ का रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताउनुभयो । उहाँले विद्यालयलाई पुनः उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न दीर्घकालीन ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘महेन्द्र भवन माध्यामिक विद्यालय काठमाडौं र महानगर बीचको यो सम्झौता विद्यालयको लागि टर्निङ्ग पोइन्टको रुपमा होस् । यो अव उकालो चढ्ने टर्निङ्ग पोइन्ट हुनुपर्दछ । महेन्द्र भवन विद्यालय पहिला धेरै राम्रो थियो, सबैलाई त्यो विद्यालयमा पढ्न मन लाग्थ्यो, त्यो विद्यालयले छुट्टै पहिचान बोकेको थियो, हाल विद्यालय केही डाउनफलमा गएको भन्ने छ, अब हामी यसलाई उकालोतर्फ लैजादैँ छौँ । २०१४ सालमा स्थापना भएको यति लामो इतिहास बोकेको यो विद्यालय यसको संरक्षण गर्ने हामी सवैको दायित्व हो । संरक्षण गर्नु भनेको विद्यालयको पूर्वाधारको मात्र संरक्षण गर्नु होइन, त्यहाँ पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षाको सुनिश्चितता सवै भन्दा महत्वपूर्ण पाटो हो । यसैका लागि सहकार्य भएको छ, यो साझेदारीले विद्यालयको साँच्चिकै नै पुनर्जन्म हुन्छ । फेरी महेन्द्र भवनलाई एउटा मोडल स्कुलका रुपमा स्थापना गर्ने जिम्मेवारी लिएर हामीले सहकार्य गरेका छौँ । शैक्षिक, भौतिक पूर्वाधार, सामाजिक सवै हिसावले विद्यालयको स्तरोन्नति हुनुपर्दछ ।’
सम्झौताअनुसार अब विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ राखिनेछ, जसका लागि आवश्यक कानूनी तथा संस्थागत प्रक्रिया अघि बढाइने सम्झौतामा उल्लेख छ । समझदारीपत्रमा विद्यालय सञ्चालनका लागि निर्देशक समिति गठन गर्ने व्यवस्था गरिएको छ । समितिको संयोजक काठमाडौं महानगरपालिकाका उपप्रमुख रहनेछन् भने गुठीका अध्यक्ष सह–संयोजक हुनेछन् । सम्बन्धित वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, महानगरको शिक्षा विषयगत समितिका संयोजक तथा शिक्षा विभाग प्रमुख समितिमा रहने व्यवस्था गरिएको छ । यस्तै, हाल कायम नौ सदस्यीय शैक्षिक गुठीमा महानगरबाट आठ सदस्य थप गरी १७ सदस्यीय बनाइने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार विद्यालयको पूर्वाधार मर्मत, पुनर्निर्माण तथा विस्तारका लागि गुरुयोजना तयार गरी त्यसअनुसार बजेट व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाले लिएको छ । विद्यालय परिसरमा विशेष विद्यालय, खेलकुद एकेडेमी तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ । विद्यालयको नाम कुनै सहयोग वा साझेदारीका कारण परिवर्तन गर्न नपाइने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ ।
महेन्द्रभवन माध्यमिक आवासीय विद्यालय वि.सं.२०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा स्थापना भएको थियो । पछिल्लो एक दशकदेखि विद्यार्थी संख्या घट्दै जाँदा विद्यालय सञ्चालन तथा व्यवस्थापनमा चुनौती देखिएको थियो । महानगर र गुठीबीचको सहकार्यले विद्यालयको भौतिक तथा शैक्षिक पुनरुत्थान गर्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल