logo-image

शुक्रबार, २२ जेठ २०८३

काठमाडौं महानगरद्वारा २ हजार ४२१ जना सडक मानव उद्धार

शुक्रबार, २२ जेठ २०८३ · समसामयिक

काठमाडौं महानगरद्वारा २ हजार ४२१ जना सडक मानव उद्धार

काठमाडौं, जेठ २२ । काठमाडौं महानगरपालिकाले २ हजार ४२१ जना सडक मानवलाई उद्धार गरेको छ ।  शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक मानवमुक्त काठमाडौं शहर बनाउने अभियान अन्तर्गत उनीहरुको उद्धार गरिएको जानकारी गराइएको हो ।

 मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरुको उद्धार गरी आश्रय दिने काम गरिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनु भयो । प्रवक्ता मानन्धरकाअनुसार ती मध्ये १ हजार ५ सय ७१ जुना पुरुष र ८५० जना महिला रहेका छन् । त्यसैगरी उद्धार पछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । हाल आश्रय लिएर भने ३४४ जना रहेको पनि प्रवक्ता मानन्धरले जानकारी दिनु भयो । त्यस्तै १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ ।

प्रवक्ता मानन्धरले भन्नुभयो,‘२०७४ साल मंसीर १ गतेदेखि २०८३ साल जेठ २१ गतेसम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ । जसमा १ हजार ५७१ जुना पुरुष र ८५० जना महिला हुनुहुन्छ । उमेरगत हिसावले हेर्दा ५ वर्षसम्मका २ जना बालक, ८ जना बालिका गरी १० जना हुनुहुन्छ । ६ वर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना हुनुहुन्छ । १८ वर्षदेखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ जना महिला गरी ६५३ जना वयस्क रहनु भएको छ । ४० वर्षदेखि ५९ वर्षसम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना हुनुहुन्छ । ६० वर्षमाथिका ५६० जना पुरुष र २८१ जना महिला गरी ८४१ जना हुनुहुन्छ । उद्धार पछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ । उद्धार पछि आश्रममा  नै रहेका बेला १०१ जना महिला र २२२ जना पुरुषको निधन भएको छ । अहिले मानव सेवा आश्रममा २०७ जना पुरुष, १३७ जना महिला गरी ३४४ जना आश्रित रहनु भएको छ ।’  

प्रवक्ता मानन्धरले उद्धार गरिएकाहरुमध्ये केही भने आय आर्जनका लागि माग्ने कामलाई पेशा बनाएर पनि सडकमा आउने गरेको पाइएको बताउनु भयो । काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा २०७६ साल मंसीर २९ गते सडक मानवमुक्त काठमाडौं सहर बनाउने अभियान अघि बढाएको थियो । सोही अभियानलाई निरन्तर रुपमा अघि बढाइएको पनि प्रवक्ता मानन्धरले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

ताजा समाचार