आइतबार, ०७ असार २०८३
आइतबार, ०७ असार २०८३ · जीवनशैली
काठमाडौ असार ७ ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ ११औँ अन्तरराष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ। देशका विभिन्न स्थानमा योग अभ्यास, स्वास्थ्य सचेतना कार्यक्रम तथा अन्तरक्रियामार्फत योगको महत्वबारे जानकारी दिइएको छ।
हरेक वर्ष जुन २१ तारिखका दिन मनाइने अन्तरराष्ट्रिय योग दिवसले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धनमा योगको भूमिकालाई उजागर गर्ने उद्देश्य राखेको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा योग दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् २०१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।
योगलाई स्वस्थ जीवनशैलीको महत्वपूर्ण आधार मानिँदै आएको छ। नियमित योग अभ्यासले तनाव व्यवस्थापन, मानसिक सन्तुलन, शारीरिक तन्दुरुस्ती तथा दीर्घकालीन रोगको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ।
नेपालमा भने २०३६ सालदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउने परम्परा रहँदै आएको छ। पछिल्ला वर्षहरूमा योगप्रति आम नागरिकको आकर्षण बढ्दै गएको छ भने शैक्षिक संस्थाहरूमा समेत योग शिक्षालाई प्राथमिकता दिन थालिएको छ।
हाल नेपाल संस्कृत विश्वविद्यालयमा योग तथा प्राकृतिक चिकित्सासम्बन्धी अध्ययन–अध्यापन हुँदै आएको छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत संस्कृत केन्द्रीय विभागमा पनि योग विषयको पठनपाठन सञ्चालन भइरहेको छ।
योगलाई स्वस्थ समाज निर्माणको आधारका रूपमा स्थापित गर्न राज्य, शैक्षिक संस्था तथा विभिन्न सामाजिक सङ्घसंस्थाले संयुक्त रूपमा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेका छन्।