logo-image

मङ्गलबार, १६ भदौ २०८३

विष्णु पौडेलको छानबिन हुन्छ भने बालेन र सुधन गुरुङको किन नहुने ? - महेश बस्नेत

मङ्गलबार, ०९ असार २०८३ · समसामयिक

विष्णु पौडेलको छानबिन हुन्छ भने बालेन र सुधन गुरुङको किन नहुने ? - महेश बस्नेत

काठमाडौं, असार ९ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा परेपछि एमाले नेता महेश बस्नेतले आपत्ति जनाउँदै अन्य नेता तथा जनप्रतिनिधिहरूको सम्पत्तिमाथि पनि निष्पक्ष छानबिनको माग गरेका छन्।

नेता बस्नेतले ३५ वर्ष सार्वजनिक जीवन र राजनीतिमा बिताएका पौडेलको सम्पत्ति छानबिन हुन सक्छ भने कम उमेरमै ठुलो सम्पत्ति आर्जन गरेका अरूको पनि पारदर्शिताका साथ छानबिन हुनुपर्ने अडान राखेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले छानबिनको मापदण्ड व्यक्ति, पार्टी वा राजनीतिक निकटताका आधारमा फरक हुन नहुने बताए।

"३५–३६ वर्षको उमेरमै उल्लेख्य सम्पत्ति आर्जन गरेका बालेन शाह, सुधन गुरुङ लगायतको सम्पत्तिबारे पनि उस्तै गम्भीरता र पारदर्शिताका साथ छानबिन हुनुपर्छ। जनताले कसैलाई दोषी वा निर्दोष घोषणा गरिदिन भनेका होइनन्, सत्य सार्वजनिक होस् भन्ने मात्र चाहेका हुन्," बस्नेतले भनेका छन्।

उनले विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङ लगायत सबैको सम्पत्ति, आर्जनको स्रोत र त्यससम्बन्धी छानबिन प्रतिवेदनहरू अविलम्ब जनतासामु ल्याउन माग गरे।

पूर्व न्यायाधीश राजेन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा गठन गरिएको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन लुकाएर सुधन गुरुङलाई चोख्याउने र पुनः नियुक्ति दिने 'नाटक' भइरहेको आरोप लगाउँदै बस्नेतले यसलाई जनताले बुझिसकेको दाबी गरे। निष्पक्ष छानबिन र पूर्ण पारदर्शिताबाट मात्रै सत्य स्थापित हुने र राज्यका निकायप्रति जनविश्वास कायम रहने उनको भनाइ छ।