logo-image

सोमबार, १८ जेठ २०८३

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

बिहिबार, २६ चैत २०८२ · समसामयिक

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

काठमाडौं, चैत २६ ।  मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर, बकैया गाउँपालिका–१२ बस्ने ३० वर्षीया वास्ना माया योञ्जन, काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने २३ वर्षीय आयुष केसी, दोलखा भिमेश्वर नगरपालिका–४ बस्ने ५६ वर्षीया सुष्मा तामाङ र धादिङ थाक्रे गाउँपालिका–७ बस्ने ४२ वर्षीय हरी शम्शेर रायमाझी रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले मायालाई काठमाडौंबाट सोमबार तथा आयुष, सुष्मा र हरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा वास्ना मायाले पीडितलाई विभिन्न प्रलोभन एवम् डर त्रास देखाई ललितपुर ठैब र हरिसिद्दीस्थित खाजाघरमा वेश्यावृत्तिमा लगाएको, आयुषले पीडितलाई हङकङमा होटलमा वेटरको काममा लगाईदिने प्रलोभनमा पारी कम्बोडिया पु¥याई डर, धाक देखाई बन्धक बनाई जबरजस्ती अनलाईन स्क्यामको काममा लगाएको खुल्न आएको छ । साथै सुष्मा र हरीले ५ जना नाबालिका र ३ जना महिलालाई विभिन्न प्रलोभन तथा डर त्रास देखाई वेश्यावृत्तिमा लगाएको खुल्न आएको छ । 

पक्राउ मध्ये आयुष, सुष्मा र हरीलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन तथा वास्ना मायालाई जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।