logo-image

सोमबार, ०१ भदौ २०८३

मतदाताको प्रश्नमा गृहमन्त्री गुरुङ : ‘चित्त बुझ्दैन भने भोट फिर्ता लैजानुस्’

सोमबार, ०१ भदौ २०८३ · समसामयिक

मतदाताको प्रश्नमा गृहमन्त्री गुरुङ : ‘चित्त बुझ्दैन भने भोट फिर्ता लैजानुस्’

गोरखा,  भदौ १ । गोरखा क्षेत्र नम्बर–१ बाट निर्वाचित गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयवासीका प्रश्नको जवाफ दिँदै चुनावी प्रतिबद्धता पूरा गर्न समय लाग्ने बताएका छन्।

आइतबार साँझ शहीद लखन गाउँपालिका–९ मा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाले चुनावका बेला गाउँमा प्रयोगशाला (ल्याब) सञ्चालनका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको स्मरण गराउँदै उक्त योजना राष्ट्रिय बजेटमा किन समावेश नभएको भनी प्रश्न उठाएका थिए।

स्थानीयवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही कार्यकर्ताले चुनावी प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेपछि मन्त्री गुरुङले सरकार गठन भएको छोटो अवधिमा सबै योजना पूरा गर्न सम्भव नभएको स्पष्ट पारे। उनले दीर्घकालीन विकास र संरचनागत परिवर्तनका लागि समय आवश्यक पर्ने उल्लेख गर्दै धैर्य गर्न आग्रह गरे।

प्रश्नकर्ताहरूलाई सम्बोधन गर्दै मन्त्री गुरुङले, “चार महिनामै कायापलट गर्न सक्दिनँ, चित्त बुझ्दैन भने भोट फिर्ता लैजानुस्,” भनेका थिए। उनको उक्त अभिव्यक्तिपछि कार्यक्रममा केहीबेर हाँसो र प्रतिक्रिया देखिएको थियो।

त्यसक्रममा केही स्थानीयले चुनावअघि नै यस्ता सीमितताबारे स्पष्ट जानकारी दिनुपर्ने धारणा राख्दै असन्तुष्टि व्यक्त गरेका थिए।

मन्त्री गुरुङले राष्ट्रिय बजेटमा प्रत्येक साना तथा स्थानीय आयोजनालाई प्रत्यक्ष रूपमा समावेश गर्न व्यावहारिक नहुने बताउँदै विकासका प्राथमिकता स्थानीय तहमार्फत अघि बढाइने गरेको जानकारी दिए। उनले आफ्नो कार्यसम्पादनको मूल्याङ्कन पाँच वर्षे कार्यकाल पूरा भएपछि गर्न आग्रह गर्दै अपेक्षाअनुसार काम गर्न नसके आगामी निर्वाचनमा आफूलाई अस्वीकार गर्न मतदाताहरू स्वतन्त्र रहेको बताए।

ताजा समाचार