शनिबार, ३१ असोज २०८३
शुक्रबार, १२ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १२ । तिब्बत-नेपाल सीमा क्षेत्रमा भीषण पहिरोपछि नदी थुनिई बनेको प्राकृतिक ताल (ब्यारियर लेक) भरिएर फुट्ने र फेरि अर्को विनाशकारी आकस्मिक बाढी आउने उच्च जोखिम बढेपछि चीनले उद्धार कार्य तत्कालका लागि स्थगित गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिरा र चिनियाँ सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार, सम्भावित विपत्तिबाट बचाउनका लागि प्रभावित क्षेत्रमा खटिएका सम्पूर्ण उद्धार टोलीहरूलाई घटनास्थलबाट एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।
अधिकारीहरूले सबै उद्धार टोलीहरूलाई आ-आफ्नो स्थानमा तयारी अवस्थामा रहन र माथिल्लो निकायको थप निर्देशन पर्खन भनेका छन्।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अघिल्लो दिन गएको विनाशकारी पहिरोका कारण भोटेकोशी (लेन्दे) नदीको बहाव थुनिएर ठूलो ताल बनेको छ। उक्त ब्यारियर लेक पूर्ण रूपमा भरिएर अहिले ओभरफ्लो हुन थालिसकेको छ।
भारतीय समाचार संस्था फर्स्टपोस्टका अनुसार चिनियाँ अधिकारीहरूले उक्त अस्थायी बाँध फुटेमा आगामी ७२ घण्टाभित्र तल्लो तटीय क्षेत्रमा फेरि अर्को ठूलो बाढी आउन सक्ने गम्भीर चेतावनी जारी गरेका छन्।
दोहोरो बाढीको जोखिमका कारण चीनतर्फ उद्धार कार्य जटिल बनेको छ। यसअघि गएको पहिरो र बाढीका कारण नेपाल र तिब्बत दुवैतर्फ गरी सयौँ मानिस अझै बेपत्ता छन्। नदी थुनिँदा बनेको तालको सतह निरन्तर बढेपछि सीमावर्ती तल्लो क्षेत्रका बासिन्दा र उद्धारकर्मीहरूमा त्रास फैलिएको छ। थप क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ। (Source : AL Jazeera)