सोमबार, ०८ असार २०८३
सोमबार, ०८ असार २०८३ · समसामयिक
काठमाडौं, असार ८ । जेनजी अगुवा तथा युवा अभियन्ता ले कक्षा १२ को नतिजासम्बन्धी विद्यार्थीहरूले उठाएका गुनासा र प्रश्नहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
शिक्षामन्त्री लाई पत्र लेख्दै हमालले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजाको निष्पक्ष, पारदर्शी र प्राविधिक पुनः परीक्षण गर्न माग गरेका छन् । उनले मूल्याङ्कन तथा नतिजा प्रकाशन प्रक्रियामा कुनै प्रकारको त्रुटि, लापरवाही वा अनियमितता भएको भए त्यसको स्वतन्त्र छानबिन गरी आवश्यक कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । पत्रमा विद्यार्थीहरूले उठाएका जायज माग तथा गुनासाहरूलाई तत्काल सम्बोधन गर्न र नतिजाप्रति चित्त नबुझेका विद्यार्थीहरूका लागि रिटोटलिङ (पुनःजोड) प्रक्रिया निःशुल्क गर्न विशेष आग्रह गरिएको छ ।
हमालले कक्षा १२ को परीक्षा विद्यार्थीहरूको उच्च शिक्षा र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण शैक्षिक मूल्याङ्कन भएकाले यससम्बन्धी कुनै पनि विवाद वा शंकालाई पारदर्शी र विश्वसनीय ढङ्गले समाधान गर्नुपर्ने बताएका छन् । उनले परीक्षा, मूल्याङ्कन तथा नतिजा व्यवस्थापन प्रणालीमा आवश्यक सुधार गरी भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन सुधारका कदम चाल्न समेत सरकारसँग आग्रह गरेका छन् ।
“विद्यार्थीहरूको मेहनत, भविष्य र आत्मविश्वाससँग जोडिएको विषय भएकाले राज्यले उनीहरूको आवाज सुन्नु र न्यायपूर्ण समाधान दिनु आवश्यक छ,” हमालले बताएका छन् ।