काठमाडौं, असोज १५ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्रीले संसदलाई जानकारी नदिई विदेश भ्रमण गरेको, बाढी–पहिरो पीडितको राहतमा ढिलाइ गरेको र सुशासनको नाममा केवल स्टन्टबाजी गरेको भन्दै सरकारको आलोचना गर्नुभएको हो । प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा उठाएका एजेण्डाहरू सकारात्मक भएपनि भ्रमणको पूर्व र उत्तरार्धमा संसदलाई जानकारी नदिएर व्यवस्थापिकाको अपमान गरेको आरोप लगाउनु भयो ।
बाढी–पहिरोका कारण ज्यान गुमाएका र बेपत्ता नागरिकहरूको अवस्थाप्रति सरकार उदासीन देखिएको उहाँको भनाइ छ । उहाँले बेपत्ता भएकाहरूलाई तत्काल मृतक सरहको कानूनी हैसियत प्रदान गर्न र पीडितहरूलाई राहत तथा पुनस्र्थापनामा गम्भीर बन्न सरकारसँग माग गर्नुभयो । राहत सामग्री गोदाममा थन्किएको र रकम खर्च हुन नसकेको भन्दै उहाँले प्रशासनिक ढिलासुस्तीप्रति रोष प्रकट गर्नुभयो ।
भ्रष्टाचार नियन्त्रणको विषयमा उहाँले अघिल्लो सरकारको पालामा सुशासनको महाअभियान शुरु गरिएको र ठूला फाइल खोलिएकै कारण सरकार ढालिएको जिकिर गर्नुभयो । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई पक्राउ गर्न पनि उहाँले सरकारलाई दबाब दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यदि सरकार साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहन्छ भने बलिया आधारसहितका फाइलहरू खोलोस्, न कि स्टन्ट देखाएर जनतालाई भ्रममा राखोस् ।’
उहाँले पछिल्लो समय जनताले महँगी, बेरोजगारी र आधारभुत सेवामा भोगेका समस्याबारे सरकार मौन रहेको आरोप लगाउनु भयो ।रसुवा र कोरोला लगायतका नाकाहरू बन्द हुँदा चाडपर्वको समयमा बजारमा सामान महँगिएको उल्लेख गर्दै उहाँले उच्चस्तरीय कुटनीतिक पहल गरी तत्काल नाका खुलाउन माग गर्नुभयो । उहाँले सरकारले सञ्चार माध्यमलाई नियन्त्रणमा राख्न खोजेको र सांसदहरूको स्तर निर्धारण गर्ने जस्ता कार्यले प्रधानमन्त्रीको साख गिराउने चेतावनीसमेत दिनुभयो । –न्युज एजेन्सी नेपाल