शुक्रबार, २२ जेठ २०८३
शुक्रबार, २२ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ २२ । मोरङको धनपालथान गाउँपालिका–२ ललिया चोकस्थित सडकमा दक्षिण अमाहिबरियातिबाट उत्तर कर्सियातर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ५९९५ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय उमेश मण्डलको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिका–५ कट्टीस्थित सडकमा बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल गए राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल चालक राजबिराज नगरपालिका–१२ सिंगियौन बस्ने २३ वर्षीय छोटेलाल यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवनको भरतपुर महानगरपालिका–१६ बिजयनगर चोकस्थित सडकमा शरणपुरबाट बिजयनगरतर्फ जाँदै गरेको ना. १ क ७४९४ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–१७ बस्ने अन्दाजी ५५ वर्षीय शुकराम चौधरीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–१४ प्रगतीनगरस्थित सडकमा रोकी राखेको ना. ५ ख १७५७ नम्बरको ट्रकमा ग. १० प २२८७ नम्बरको मोटरसाइकल बिहीबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका–१ बस्ने ५१ वर्षीय ओमनारायण गुरौ (थारू) को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।