बिहिबार, १४ साउन २०८३
बिहिबार, १४ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन १४ । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले नेपाली समाजमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई आह्वान गरेका छन्।
निर्मल निवासबाट जारी सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यही विविधताले नेपाली समाजलाई विश्वसामु विशिष्ट पहिचान दिलाएको बताएका छन्।
पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका तनाव, असहिष्णुता र अप्रिय घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधिले समाजमा विभाजन र अविश्वास बढाउन सक्ने बताएका छन्। उनले सबै पक्षलाई संयमता अपनाउँदै संवाद, सहकार्य र आपसी सम्मानमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।
पूर्वराजा शाहले प्राकृतिक विपद् तथा अन्य चुनौतीपूर्ण परिस्थितिमा नेपालीले देखाउँदै आएको एकता र सहयोगको भावनालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै सामाजिक सद्भाव र पारस्परिक विश्वास कायम राख्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन्।
सन्देशको अन्त्यमा उनले सम्पूर्ण नेपालीलाई शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गर्दै "जय नेपाल" व्यक्त गरेका छन्।
