logo-image

आइतबार, १४ भदौ २०८३

ब्रेकिङ : भोटेकोशीमा आकस्मिक बाढीको सूचना, त्रिशूली किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

शुक्रबार, १२ भदौ २०८३ · समसामयिक

ब्रेकिङ : भोटेकोशीमा आकस्मिक बाढीको सूचना, त्रिशूली किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

 

धादिङ, भदौ १२ । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएपछि धादिङ जिल्ला प्रशासन कार्यालयले त्रिशूली नदीको दुवै किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनामा त्रिशूली नदी आसपास जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न र सुरक्षित ठाउँमा बस्न अनुरोध गरिएको छ। प्रशासनले सम्भावित विपद्जन्य घटना भएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि तथा नजिकको सुरक्षा इकाइलाई तत्काल जानकारी गराउन समेत आग्रह गरेको छ।

सूचनामा आपत्कालीन अवस्थामा सम्पर्क गर्न नेपाल प्रहरी हटलाइन १००, सशस्त्र प्रहरी बल नेपाल १११४ तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलगायतका सम्पर्क नम्बर उपलब्ध गराइएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी आसपासका बासिन्दालाई विशेषगरी रातको समयमा समेत सावधानी अपनाउन, नदीको बहाव बढेको अवस्थामा किनारतर्फ नजान तथा सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेका बेला सार्वजनिक गरिएको सूचनामा उद्धार तथा राहतमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित सबैलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान तथा आवश्यक जानकारी गराउन अनुरोध गरिएको छ।

भोटेकोशी हुँदै आएको बाढीले रसुवागढी, टिमुरे र स्याफ्रुबेँसीसहितका क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदै त्रिशूली नदीको तटीय क्षेत्रमा समेत जोखिम बढाएको छ।