logo-image

मङ्गलबार, १९ जेठ २०८३

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

मङ्गलबार, १९ जेठ २०८३ · समसामयिक

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं, जेठ १९ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्ण कुमार खड्का, ललितपुर महालक्ष्मी  नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौं महानगरपालिका–६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने झापा घर भएकी ४७ वर्षीया निसा सिवा रहेका छन् । 

पक्राउ मध्ये कृष्ण कुमार र भागिरथीले क्रोएशिया, ग्रीस लगायतका देशहरू पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ५८ लाख ६८ हजार रूपैयाँ, प्रवेशले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ९० हजार रूपैयाँ, प्रज्वलले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख रूपैयाँ र निसाले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्ण कुमार र भागिरथीलाई ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलबाट सोमबार तथा प्रवेशलाई ललितपुर महानगरपालिका–१० बाट, प्रज्वललाई काठमाडौं महानगरपालिका–७ बाट र निसालाई काठमाडौं महानगरपालिका–१६ बाट शुक्रबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।