logo-image

मङ्गलबार, २६ साउन २०८३

काठमाडौंमा भूत पन्छाइँदै

मङ्गलबार, २६ साउन २०८३ · समसामयिक

काठमाडौंमा भूत पन्छाइँदै

काठमाडौं, साउन २६ ।  काठमाडौं उपत्यकामा आज पौराणिक कालदेखि चलिआएको गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी पर्व धार्मिक विधिपूर्वक मनाइएको छ । यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा विशेष चहलपहल देखिएको थियो । आजको दिन विशेष गरी नकारात्मक शक्ति वा प्रेतात्माको प्रभावबाट बच्नका लागि फलामको औँठी लगाउने प्राचीन परम्परा रहेको छ । यसै विश्वासका साथ सर्वसाधारणहरू फलामको औँठी खरिद गरी लगाउने गर्दछन् । साथै, महिलाहरूले आजको दिनलाई विशेष पर्वको रूपमा लिँदै हातमा मेहेन्दी लगाउने प्रचलन समेत रहेको छ । यस पर्वको मुख्य आकर्षणका रूपमा नर्कटबाट बनाइएको प्रतीकात्मक खट (घण्टाकर्णको आकृति) रहेको छ । नर्कटलाई बाँधेर त्रिकोणात्मक स्वरूप दिई तयार पारिएको उक्त खटलाई साँझपख टोलटोलमा घुमाउने गरिन्छ । समाजबाट रोगव्याधि, अनिष्ट र नकारात्मक तत्वहरू पन्छाउने उद्देश्यले ‘लुतो फाल्ने’ र भूत मन्छाउने प्रक्रिया सम्पन्न गरिन्छ । साँझको समयमा मानिसहरूले हाउभाउ र विभिन्न नाराहरू लगाउँदै उक्त नर्कटको खटलाई शहर वा गाउँभन्दा बाहिर लगेर विसर्जन गर्ने गर्दछन्, जसलाई स्थानीय भाषामा ‘भूत पन्छाउने’ कार्यका रूपमा बुझिन्छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल