logo-image

सोमबार, १५ भदौ २०८३

न्यायको आशामा अमेरिकाबाट फर्किए धुर्मुस

आइतबार, २४ जेठ २०८३ · समसामयिक

न्यायको आशामा अमेरिकाबाट फर्किए धुर्मुस

 

काठमाडौं, जेठ २४ ।  लोकप्रिय कलाकार तथा समाजसेवी सीताराम कट्टेल 'धुर्मुस' अमेरिका बसाइपछि स्वदेश फर्किएका छन्। छोरीको स्वास्थ्य उपचारका लागि केही समयदेखि विदेशमा रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू मातृभूमि फर्किएको जानकारी गराएका हुन्।

नेपाल ओर्लिएलगत्तै सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै कट्टेलले न्याय प्राप्त हुने आशा र विश्वास अझै कायम रहेको उल्लेख गरेका छन्। मातृभूमिको काखमा फर्किएर जीवनका दुःख र संघर्षलाई आफ्ना मानिसहरूसँग बाँड्ने र जीवनका घाउहरू निको पार्ने अपेक्षा उनले व्यक्त गरेका छन्।

फेसबुकमा आफ्नो तस्बिरसहित उनले लेखेका छन्:

"न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु। आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।"

पछिल्ला वर्षहरूमा चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा उत्पन्न ऋण दायित्व र विवादका कारण कट्टेल निकै मानसिक तथा आर्थिक दबाबमा रहँदै आएका थिए। रंगशाला निर्माणका क्रममा लागेको ऋण समाधानका लागि उनले निरन्तर सरकारी निकाय, मन्त्रालय र सरोकारवालाहरूसँग पहल गर्दै आएका थिए।

लामो समयको अन्योलतापछि रंगशालाको स्वामित्व र ऋणको विषयमा सरकारले ठोस निर्णय लिनुपर्ने उनको अडान रहँदै आएको छ। स्वदेश फर्किएसँगै उनले रंगशाला निर्माणको बाँकी विवाद र ऋण फर्स्योटको मुद्दालाई पुनः अगाडि बढाउने संकेत गरेका छन्।