सोमबार, १८ जेठ २०८३
बिहिबार, १४ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ १४ । आर्थिक घोटालाको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुग्ध विकास संस्थान (डिडिसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ।
बुधबार दिउँसो डिडिसी कार्यालय पुगेको सीआईबीको विशेष टोलीले दूध खरिद-बिक्रीसँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ। अनुसन्धानलाई प्रभावकारी बनाउन टोलीले त्यहाँ कार्यरत पाँच जना कर्मचारीहरूको मोबाइल समेत जफत गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
सीआईबीको टोलीले छापा मार्ने क्रममा डिडिसीका महाप्रबन्धक डा. शरण कुमार पाण्डे भने कार्यालयमा उपस्थित थिएनन्। उनी सो समयमा विभागीय मन्त्रालयमा रहेको बुझिएको छ। संस्थानभित्र लामो समयदेखि आर्थिक अनियमितता र दूध खरिद-बिक्रीमा गम्भीर लापरबाही भएको उजुरी परेपछि ब्यूरोले आकस्मिक रूपमा यो कदम चालेको हो।
केही समयअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले डिडिसीको उत्पादन बिक्री बढाउन चिज खाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आम नागरिकलाई आग्रह गरेका थिए। मेयर शाहको उक्त पोस्टपछि धराशयी बन्दै गएको यो सरकारी संस्था र यसका उत्पादनहरूको विषयमा सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा थप चर्चा चुलिएको थियो।
चर्चा चुलिएकै बेला संस्थाभित्र वित्तीय सुशासनको अभाव र घोटालाको आशंकामा प्रहरीको प्रतिष्ठित अनुसन्धान निकाय (सीआईबी) नै भित्रिएपछि डिडिसीको आन्तरिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ। सीआईबीले नियन्त्रणमा लिएका कागजात र मोबाइलको प्राविधिक विश्लेषण गरी अनुसन्धानलाई थप तीव्र बनाउने जनाएको छ।