आइतबार, १७ जेठ २०८३
आइतबार, १७ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ १७ । नेपाल र थाइल्याण्डबीच पर्यटन प्रवद्र्धन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले बैंककस्थित अमारी होटलमा नेपाल र थाइल्याण्डका पर्यटन व्यवसायीहरूबीच बिजनेस टु बिजनेस कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली राजदूतावासको आयोजनामा मे २९, २०२६ मा सम्पन्न उक्त कार्यक्रममा नेपालका १८ प्रतिष्ठित पर्यटनसम्बन्धी कम्पनी तथा संस्थाका प्रतिनिधिहरू र थाइल्याण्डका ६३ पर्यटन व्यवसायसँग आबद्ध कम्पनीका १०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा होटल, ट्राभल तथा ट्रेकिङ कम्पनी, एयरलाइन्स, साहसिक पर्यटन तथा सामुदायिक पर्यटनसँग सम्बन्धित नेपाली संस्थाहरू सहभागी भएका थिए । कार्यक्रमले नेपाल र थाइल्याण्डका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न, नयाँ साझेदारीका सम्भावना पहिचान गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम नेपाली राजदूतले नेपाल र थाइल्याण्डबीच रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउन पर्यटनले प्रभावकारी ‘पुल’को भूमिका निर्वाह गरेको बताए । उनले नेपालका प्रमुख पर्यटन गन्तव्य, बौद्ध तीर्थस्थल, हिमाली साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदाबारे जानकारी गराउँदै थाइल्याण्डबाट नेपाल आउने पर्यटकको संख्या बढाउन पर्यटन व्यवसायीहरूको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले नेपाललाई थाई पर्यटकहरूका लागि आकर्षक, सहज पहुँचयोग्य तथा बहुआयामिक पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए । प्रस्तुतीका क्रममा लुम्बिनी, जनकपुर, काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्र, सगरमाथा क्षेत्र, अन्नपूर्ण पदमार्ग, वन्यजन्तु पर्यटन, योग तथा वेलनेस पर्यटन, विवाह पर्यटन, फिल्म पर्यटन तथा पर्वतीय साहसिक गतिविधिका विविध सम्भावनाबारे जानकारी दिइएको थियो ।
उपनियोग प्रमुख मोति बहादुर श्रीसले नेपाल–थाइल्याण्डबीच पछिल्लो १३ वर्षको पर्यटक आदानप्रदान सम्बन्धी तथ्यांक प्रस्तुत गर्दै दुवै देशबीच पर्यटक आवागमन बढ्दै गए पनि नेपालको सम्भावनाको तुलनामा थाइल्याण्डबाट नेपाल आउने पर्यटकको संख्या अझै अपेक्षाकृत कम रहेको बताए । उनका अनुसार सन् २०१३ मा थाइल्याण्डबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ४० हजार ९६९ रहेकोमा सन् २०२५ मा यो संख्या ३० हजार २४३ मा सीमित रहेको छ । थाइल्याण्डबाट विदेश भ्रमणमा जाने पर्यटकहरूको कुल संख्यालाई आधार मान्दा नेपालमा पर्यटन प्रवद्र्धनका लागि अझै प्रशस्त अवसर रहेको उनले उल्लेख गरे । कार्यक्रममा थाइल्याण्डस्थित पर्यटन व्यवसायीहरूलाई नेपालका लागि पर्यटकीय भिसा आवेदन प्रणालीबारे अभिमुखीकरणसमेत गरिएको थियो। भिसा आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन भइसकेको तथा अत्यावश्यक अवस्थामा आवेदन दिएको छोटो समयमै भिसा जारी गर्न सकिने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।
राजदूतावासले कार्यक्रममा सहभागी नेपाली पर्यटन व्यवसायीहरूले तयार पारेका पर्यटन प्रवद्र्धनसम्बन्धी दृश्य सामग्रीहरू आगामी दिनमा नियमित रूपमा प्रकाशन तथा प्रचारप्रसार गर्ने जनाएको छ। कार्यक्रमलाई नेपाल–थाइल्याण्ड पर्यटन सम्बन्धलाई थप उचाइमा पु¥याउने तथा नेपाललाई थाई पर्यटकमाझ प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने एक व्यक्ति पक्राउ
२४ मिनेट अगाडि