शुक्रबार, १५ साउन २०८३
शुक्रबार, १५ साउन २०८३ · समसामयिक
जनकपुरधाम, साउन १५ । जिल्ला प्रहरी कार्यालय धनुषाले सबैला नगरपालिका वडा नम्बर १२ नहरचोक स्थित मन्दिर परिसरमा एक पुरुष मृत फेला परेको घटनाबारे आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै यथार्थ सार्वजनिक गरेको छ।
प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार मृत फेला पर्ने व्यक्ति करिब ४० वर्षीय बन्तु राउत कडेरी रहेका छन्। घटनालगत्तै सामाजिक सञ्जालमा मृतक मन्दिरका पुजारी रहेको भन्दै अफवाह फैलिएको थियो। तर प्रहरीले उक्त कुराको खण्डन गर्दै कडेरी मन्दिरका पुजारी नभएको प्रस्ट पारेको छ। उनी दिउँसो बाहिर कामकाज गर्ने र रातिको समयमा सोही मन्दिर परिसरमा सुत्न आउने साधारण नागरिक रहेको अनुसन्धानबाट खुलेको छ।
साउन १५ गते राति मन्दिर परिसरमा शव फेला परेपछि स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो। घटनाको प्रकृति र गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले तालिमप्राप्त सुनिफिङ कुकुरसहितको विशेषज्ञ टोली परिचालन गरी घटनास्थलको सूक्ष्म परीक्षण गर्नुका साथै आवश्यक प्रमाणहरू सङ्कलन गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट प्राप्त तथ्यहरूको आधारमा यो घटना कुनै पनि किसिमको धार्मिक वा सामाजिक द्वन्द्वसँग सम्बन्धित नरहेको, तर विशुद्ध आपराधिक प्रवृत्तिका व्यक्तिहरूद्वारा घटाइएको हत्या तथा गम्भीर अपराध रहेको प्रहरीले जनाएको छ।
धार्मिक सद्भाव जोगाउन प्रहरीको अपील
विज्ञप्तिमा धनुषा प्रहरीले यस संवेदनशील घटनालाई धार्मिक विवाद वा साम्प्रदायिक रूप नदिन आम नागरिक, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा विशेष अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले समाजमा भ्रम र अशान्ति फैलाउने खालका अफवाहहरूमा विश्वास नगर्न र शान्ति-सुरक्षा कायम राख्न सहयोग पुर्याउन अपील गर्नुभएको छ।
प्रहरीले घटनामा संलग्न अपराधी जो-सुकै भए पनि चाडै पहिचान गरी कानुनको दायरामा ल्याउने र कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। हाल प्रहरीले घटनाको बहुआयामिक कोणबाट अनुसन्धान प्रक्रिया तीव्र पारेको छ।
देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै
४ घण्टा अगाडि