logo-image

बुधबार, ०३ भदौ २०८३

हेटौँडाको बासुदेव खोलामा बाढीले बगाएकाे चार बालिका मध्ये दुई बालिकाको भेटियो शव, एक अझै बेपत्ता

बुधबार, ०३ भदौ २०८३ · समसामयिक

हेटौँडाको बासुदेव खोलामा बाढीले बगाएकाे चार बालिका मध्ये दुई बालिकाको भेटियो शव, एक अझै बेपत्ता

हेटौँडा, भदौ ३ । हेटौँडा–१९ बस्तीपुरस्थित बासुदेव खोलामा मङ्गलबार विद्यालयबाट घर फर्किने क्रममा अचानक आएको बाढीले बगाएर बेपत्ता भएका चार बालिकामध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छिन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–१ निवासी कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तानको शव घटनाकै दिन फेला परेको थियो भने बेपत्तामध्ये कक्षा ५ मा अध्ययनरत बिनिता भ्लोनको शव बुधबार बिहान बासुदेव र राप्ती खोलाको दोभानमा फेला परेको हो। सोही घटनामा कक्षा ६ मा अध्ययनरत सीमा भ्लोनलाई घाइते अवस्थामा तत्काल उद्धार गरी हेटौँडा अस्पतालमा उपचार गरिएको छ भने अर्की कक्षा ५ कै सुमित्रा भ्लोन अझै बेपत्ता रहेकी छिन्।

लगातारको वर्षाका कारण खोलामा पानीको बहाव उच्च र जोखिमपूर्ण रहेकोले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरूको संयुक्त टोलीद्वारा बेपत्ता बालिकाको खोजी कार्य जारी राखिएको छ। यस दुःखद घटनाले एकैपटक दुई बालिकाहरूको ज्यान लिनुका साथै एक बालिका अझै बेपत्ता हुँदा सिङ्गो स्थानीय समुदाय गहिरो शोकमा डुबेको छ।