logo-image

मङ्गलबार, ०९ असार २०८३

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीलाई ५ दिनभित्र हट्न अल्टिमेटम, २५ हजार दिएर बिदाइ गरिँदै

मङ्गलबार, ०९ असार २०८३ · समसामयिक

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीलाई ५ दिनभित्र हट्न अल्टिमेटम, २५ हजार दिएर बिदाइ गरिँदै

 

काठमाडौं, असार ९ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न निर्देशन दिएको छ।

गत वैशाखमा काठमाडौँ उपत्यकाका नदी किनाराका जोखिमयुक्त बस्तीहरू हटाइएपछि विगत दुई महिनादेखि ६८ परिवारका २०३ जना नागरिक यस सेन्टरमा अस्थायी रूपमा बस्दै आएका छन्।

सुकुम्बासीहरूलाई हटाउनुअघि सरकारले उनीहरूका लागि स्व-व्यवस्थापन खर्च र राहतको रणनीति अघि सारेको छ। जसअनुसार होल्डिङ सेन्टर खाली गर्नुभन्दा पहिले प्रत्येक परिवारलाई स्व-व्यवस्थापनका लागि एकपटक २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। उक्त राहत रकम प्राप्त गर्नका लागि आश्रितहरूले आफ्नो बैंक खाता नम्बरसहितको निवेदन पेस गर्नुपर्ने समितिले जनाएको छ। यसका साथै, सेन्टरबाट हटेपछि उनीहरू वास्तविक सुकुम्वासी प्रमाणित भएको खण्डमा राज्यका तर्फबाट मासिक १५ हजार रुपैयाँका दरले भत्तासमेत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

सरकारले पहिलो चरणमा कीर्तिपुरबाट यो प्रक्रिया सुरु गरेको हो भने आगामी दिनमा अन्य होल्डिङ सेन्टरमा रहेकाहरूलाई पनि यसै गरी स्व-व्यवस्थापन खर्च दिएर हटाउने योजना बनाएको छ। स्थायी व्यवस्थापनको ठोस खाका नआउँदै हट्न निर्देशन दिएपछि आश्रित परिवारहरूमा भने त्रास फैलिएको छ। उपत्यकाका बस्तीहरू हटाइएका मध्ये २ हजार ६०८ जनाले सुकुम्वासीको सूचीमा नाम दर्ता गराएका छन्।