सोमबार, १८ जेठ २०८३
बुधबार, २५ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र २५ । नेपाल टेलिकमका ग्राहकहरूले लामो समयदेखि खेप्दै आएको डाटा प्याकेज सकिएलगत्तै मुख्य ब्यालेन्सबाट पैसा काटिने समस्या अब समाधान भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधार योजनाअनुसार टेलिकमले डाटा खपत र ब्यालेन्स सुरक्षाका सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार ग्राहकको डाटा प्याकेज ९० प्रतिशत खपत भएपछि एसएमएस वा मोबाइल एपमार्फत पूर्वजानकारी दिइनेछ, यसअघि ८० प्रतिशतमा यस्तो सूचना पठाइने गरेकोमा अब ग्राहकलाई थप सचेत गराउन ९० प्रतिशतको सीमा तोकिएको हो। यसले गर्दा ग्राहकले आफ्नो डाटा सकिन लागेको समयमै थाहा पाउनेछन् र ब्यालेन्स काटिनबाट जोगिनेछन्।
यसअघि डाटा सकिएको पत्तो नहुँदा महँगो दरमा ब्यालेन्स काटिएको भन्दै गुनासो बढेपछि मन्त्रालयले 'पे-एज-यू-गो' प्रणालीलाई ग्राहकको रोजाइमा छाडिदिएको हो। अब ग्राहकले आफ्नो मोबाइलबाट *444# डायल गरी यो सेवालाई आवश्यकताअनुसार सुचारु वा बन्द गर्न सक्नेछन्। यदि प्याकेज नभएको अवस्थामा पनि मुख्य ब्यालेन्सबाटै केही समयका लागि डाटा चलाउनुपरेमा वा डिजिटल भुक्तानी जस्ता आकस्मिक कार्य गर्नुपरेमा सोही कोड डायल गरी अङ्क २ थिचेर सेवा सक्रिय पार्न सकिने सुविधा समेत दिइएको छ।