बुधबार, १७ असार २०८३
बुधबार, १७ असार २०८३ · समसामयिक
गुल्मी, असार १७ । जङ्गली जनावर धपाउन बारीमा थापिएको विद्युतीय पासो (करेन्ट) मा परेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–५ मन्टारीकी ६० वर्षीया हुमकला भण्डारी रहेकी छन् ।
गएराति करिब १:३० बजे बारीमा थापिएको करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि तत्काल गुल्मी अस्पताल तम्घास लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार हुमकलाका श्रीमान् भेषराज भण्डारीले बँदेलबाट बाली जोगाउन घरदेखि करिब १५० मिटर टाढाको बारीमा मुख्य बिजुलीको पोलबाट नाङ्गो तार तानेर करेन्ट प्रवाह गरी पासो थापेका थिए । तर, आफ्नै असावधानीका कारण श्रीमती उक्त पासोमा पर्न गएकी हुन् ।
घटनालगत्तै प्रहरीले मृतकका श्रीमान् भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान अघि बढाएको छ । साथै, जंगली जनावरबाट बाली जोगाउने बहानामा यस्ता ज्यान लिने जोखिमपूर्ण र गैरकानुनी उपायहरू नअपनाउन प्रहरीले स्थानीयवासीलाई कडा आग्रह गरेको छ ।