बुधबार, २० जेठ २०८३
बुधबार, २० जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ २० । सरकारी अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका तथा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत-सम्भार गरेर पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष पहल सुरु गरेको छ।
यसै सिलसिलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच देशभरका सरकारी अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको अवस्था पहिचान गर्ने, तिनको प्राविधिक मूल्याङ्कन गर्ने र केन्द्रमार्फत मर्मत गराई पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्रालयमा महत्त्वपूर्ण छलफल भएको छ।
अस्पतालहरूमा उपलब्ध उपकरणहरूको प्रभावकारी उपयोगमार्फत स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक सहकार्य अगाडि बढाउने विषयमा दुवै पक्षबीच सहमति भएको मन्त्रालयले जनाएको छ। राज्यको ठूलो लगानी परेका तर लामो समयदेखि अलपत्र रहेका स्वास्थ्य उपकरणहरू पुनः सञ्चालनमा आउँदा सरकारी अस्पतालहरूको सेवा प्रवाहमा व्यापक सुधार हुने र बिरामीले सहज एवं सुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।