बुधबार, ०९ वैशाख २०८३
सोमबार, ०७ वैशाख २०८३ · जिवनशैली
काठमाडौं, वैशाख ७ । सनातन धर्ममा विशेष स्थान राख्ने अक्षय तृतीया पर्व आज श्रद्धापूर्वक मनाइदैछ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया हिन्दू धर्मावलम्बीहरूका लागि एक अत्यन्तै शुभ र 'स्वयंसिद्ध मुहूर्त' हो।
शास्त्रहरूका अनुसार 'अक्षय' को अर्थ कहिल्यै नाश नहुने भन्ने हुन्छ, जसले गर्दा यस दिन गरिएका सत्कर्म, दान, र भगवानको उपासनाबाट प्राप्त हुने पुण्य कहिल्यै समाप्त हुँदैन। पौराणिक र ऐतिहासिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने यसै दिन सत्य युग र त्रेता युगको प्रारम्भ भएको मानिन्छ भने भगवान विष्णुले परशुराम, नर–नारायण र हयग्रीवका रूपमा अवतार लिनुभएको विश्वास गरिन्छ। ज्योतिष शास्त्रमा यस दिनलाई 'स्वयंसिद्ध मुहूर्त' मानिन्छ, जसको अर्थ कुनै पनि शुभ कार्य वा मांगलिक काम गर्नका लागि साइत हेरिरहनु पर्दैन।
यस पर्वको अर्को मुख्य पक्ष भनेको दान र परोपकार हो। बढ्दो गर्मीको समयमा शरीरलाई शीतलता प्रदान गर्ने जौको सातु र चिनी, सख्खर एवं विभिन्न मसला मिसाइएको सर्वत खुवाउनुलाई आजको दिन विशेष पुण्यदायी मानिन्छ। मानिसहरूले आजका दिन ब्राह्मण, असहाय, र भोकाहरूलाई अन्न, वस्त्र, छाता, र जलले भरिएका कलशहरू दान गरेर अक्षय पुण्यको कामना गर्दछन्।
यस्तै, यसै पावन तिथिमा प्रसिद्ध बद्रीनाथ धामको ढोका खुल्ने र महर्षि वेदव्यासले महाभारतको रचना सुरु गरेको प्रसङ्गले पनि यस दिनको धार्मिक गरिमालाई अझ उचो बनाएको छ। केवल धार्मिक दृष्टिले मात्र नभई, मानव सेवा र प्राकृतिक सन्तुलनका लागि जल सेवा र अन्न दानको सन्देश दिने यो पर्वले समाजमा सद्भाव र उदारताको भावना जागृत गराउँछ।
सभामुखद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श
१९ मिनेट अगाडि
बैंकमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
एक घण्टा अगाडि