आइतबार, १४ असार २०८३
आइतबार, १४ असार २०८३ · समसामयिक
काठमाडौं, असार १४ । काठमाडौँको बुढानीलकण्ठ स्कुलमा शैक्षिक सत्र २०८० मा कक्षा ५ मा भर्ना भएकी एक बालिकामाथि भएको मानसिक तथा शारीरिक दुर्व्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान तीव्र पारेको छ। प्रहरी वृत्त महाराजगञ्जमा दर्ता भएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले प्रमाण संकलन र बयान लिने कार्य गरिरहेको छ।
पीडित परिवारका अनुसार विद्यालयको छात्रावासमा बस्ने क्रममा आफूभन्दा ठूला विद्यार्थीहरूले ती बालिकालाई जबर्जस्ती 'हरर फिल्म' (डरलाग्दो चलचित्र) हेर्न लगाएका थिए, जसका कारण उनी गम्भीर मानसिक तनावमा परिन्। त्यस कठिन परिस्थितिमा आवश्यक काउन्सिलिङ र सहयोग गर्नुको साटो विद्यालयका दुई शिक्षिकाहरूले उल्टै मानसिक तथा शारीरिक रूपमा प्रताडित गरेको आरोप जाहेरीमा लगाइएको छ।
प्रहरीमा पेश गरिएको कान्ति बाल अस्पतालको स्वास्थ्य प्रतिवेदन अनुसार ती बालिकामा 'डिस्सोसिएटिभ डिसअर्डर' (कन्भर्जन डिसअर्डर) देखिएको छ। अत्यधिक तनावका कारण देखिने यस समस्याले गर्दा बालिका अचानक बेहोस हुने, शरीरका अंगहरू अस्थायी रूपमा नचल्ने र बोल्न गाह्रो हुने जस्ता कडा स्नायुसम्बन्धी लक्षणहरूबाट पीडित छिन्। प्रहरीले आरोपित पक्षसँग सोधपुछ गरिरहेको र कानुन बमोजिम अघि बढ्ने जनाएको छ।