logo-image

आइतबार, १४ असार २०८३

काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल

आइतबार, १४ असार २०८३ · राजनीति

काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल

काठमाडौं, असार १४ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बन्न नदिएको आरोप लगाउनुभएको छ । 
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएपनि प्रदेश र स्थानीय सरकार काँग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गर्नुभयो । सांसद खनालले उक्त अस्पताल बन्न नदिन आफ्नै पार्टीको प्रदेश र स्थानीय सरकारले अवरोध गर्दा पनि काँग्रेसले त्यसमा कुनै पहल नगरेको भन्दै आपत्ति जनाउनु भयो । संघीय संसदमा  आदर्शका कुरा गर्ने काँग्रेस सांसदहरुले आफ्नै पार्टीको सरकारले प्रदेश र स्थानीय तहमा जनताको काम नगरेको विषय उठान नगरेको गुनासो पनि सांसद खनालले गर्नुभयो ।
उहाँले भन्नुभयो,‘लम्की चुहा अस्पतालका कर्मचारीलाई त्यहाँको स्थानीय सरकारले गालीगलौज गरेको दृश्य सामाजिक सञ्जालमा आईरहँदा त्यहाँ गालीबेइज्जत भइरहन्छ, आइरहन्छ । तर यो संचालनका लागि प्रतिपक्ष बेञ्चमा बसेको नेपाली काँग्रेसमाथि ध्यानाकर्षण गराउन चाहन्छु सभामुख महोदय । यहाँ सदनमा तपाईहरु पटक पटक सरकारले यो गरेन, त्यो गरेन आफूह बेन्चमाथि उठनु हुन्छ, तर तपाईकै स्थानीय तहको बनेको सरकार र प्रदेश सरकारले लम्की चुहा अस्पतालमाथि गरेको अन्यायलाई तपाईहरुले कहिले सदनमा बोल्नु हुन्छ । तपाईहरु सधै सरकारले यो गरेन, उ गरेन भन्नु हुन्छ । तपाईहरुको पार्टीले बनाएको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलौज गर्दा कहाँ छ नेपाली काँग्रेस ? म यहाँबाट खोज्न चाहन्छु । एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन । प्रादेशिक अस्पताल बनाउनुपर्छ भनिरहेको छ । तर बनिरहेको छैन । अनि यहाँ चाँही उहाँहरु आर्दशको कुरा गर्नुहुन्छ । म यहाँबाट नेपाली काँग्रेस खोज्न चाहन्छु–काँग्रेस कहाँ छ ? त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रका कर्मचारीहरु पनि काँग्रेसबाट पीडित छन । त्यहाँको स्थानीय सरकारबाट पीडित छन ।’
सांसद खनालले काँग्रेस नेतृत्वको प्रदेश र स्थानीय सरकारका कारण त्यहाँका सरकारी कर्मचारी समेत पीडित भएको दावी समेत गर्नुभयो । 

ताजा समाचार