logo-image

सोमबार, १८ जेठ २०८३

सात कुकुरको बहादुरी: १७ किलोमिटरको साहसिक यात्रा र त्यो लोभलाग्दो एकता

बुधबार, ११ चैत २०८२ · समसामयिक

सात कुकुरको बहादुरी: १७ किलोमिटरको साहसिक यात्रा र त्यो लोभलाग्दो एकता

चाङ्चुन, चीन । चीनमा एउटा चलचित्रको कथालाई पनि माथ दिने गरी सातवटा कुकुरहरू मासु बजारको मुखबाट उम्किएर घर फर्कन सफल भएका छन्। छिमेकीका यी सात कुकुरहरूलाई मासुका लागि बेच्न ट्रकमा राखेर लैजाँदै गर्दा उनीहरू नाटकीय रूपमा भाग्न सफल भएका हुन्।

चीनको चाङ्चुन नजिकैको एउटा शान्त गाउँमा गत मार्च १६ को रात सातवटा घरपालुवा कुकुरहरूलाई मासु व्यापारीको समूहले योजनाबद्ध रूपमा चोरेर ट्रकमा हाले। उनीहरूको गन्तव्य एउटा यस्तो बधशाला थियो, जहाँबाट कोही पनि जीवित फर्कने आशा हुँदैनथ्यो। तर, ती निर्दोष प्राणीहरूको नियतिमा केही अर्कै लेखिएको थियो। मृत्यु निश्चित भएको त्यो ट्रकबाट सातै वटा कुकुरहरूले गुडिरहेकै अवस्थामा हाम फालेर भाग्ने अदम्य साहस देखाए। व्यस्त 'चाङ्सुआङ एक्सप्रेस' सडकको किनारमा खसेका उनीहरू आफ्नो घरबाट १७ किलोमिटर टाढा, अपरिचित र चिसो अन्धकारमा अलपत्र परे। तर, यहीँबाट सुरु भयो उनीहरूको बाँच्ने र घर फर्कने एउटा अविश्वसनीय सङ्घर्ष।

यो घटना तब विश्वभर सनसनी बन्यो, जब उनीहरूको यात्राको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। चिनियाँ नेटिजन्सहरूले उनीहरूलाई 'दाजुभाइको समूह' को संज्ञा दिए। यात्राको सबैभन्दा भावुक पक्ष के थियो भने, समूहको एउटा 'जर्मन शेफर्ड' कुकुर नराम्ररी घाइते थियो। तर, अन्य ६ साथीले उसलाई एक्लो छोडेनन्। आकारमा सानो भए पनि एउटा 'कोर्गी' जातको कुकुरले यो साहसिक समूहको नेतृत्व गरिरहेको थियो। बाटोमा मानिसहरूले उद्धार गर्न खोज्दा पनि उनीहरू कसैको आश नगरी आफ्नो गाउँकै दिशामा एकनासले हिँडिरहे।

स्थानीय व्यक्ति 'मिस्टर लु' ले खिचेको यो दृश्य चिनियाँ टिकटक 'दोउयिन' मा भाइरल भएपछि करिब २० करोड मानिसको ध्यान खिच्यो। यो भिडियो स्थानीय कुकुर उद्धार संस्था ("बीटर कफी स्ट्रे डग बेस") सम्म पुगेपछि स्वयंसेवकहरूले ड्रोनको प्रयोग गरेर उनीहरूको अवस्थिति पत्ता लगाए। हिमपात र शून्यभन्दा तलको तापक्रमका बाबजुद उद्धार टोलीले उनीहरूलाई पछ्याइरह्यो।

दुई दिनको कठिन यात्रा, भोक, प्यास र मृत्युसँगको लडाइँपछि मार्च १८ सम्ममा सातवटै कुकुरहरू सकुशल आफ्नो गाउँ पुग्न सफल भए। १७ किलोमिटरको दूरी पार गरेर आफ्ना मालिकको दैलोमा कुकुरहरू पुग्दाको दृश्य निकै भावुक थियो। आफ्ना हराएका वफादार साथीहरूलाई मृत्युको मुखबाट फर्केको देख्दा मालिकहरूका आँखा खुसीले रसाएका थिए। (एजेन्सी)

ताजा समाचार