शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २२
समानुपातिकतर्फको मतगणना पनि सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नैं अग्रता लिएको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको कुल ११ हजार एक सय ५४ मतको तथ्यांक अनुसार रास्वपाले छ हजार छ सय पाँच मत प्राप्त गर्दै पहिलो स्थान ओगटेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले दुई हजार एक सय ३० मत प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक हजार १३ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा (एमाले) भने जम्मा छ सय सात मत प्राप्त गर्दै चौथो नम्बरमा सीमित भएको छ । प्रत्यक्षतर्फको नतिजामा उल्लेख्य सिटमा अग्रता लिइरहेको रास्वपाले समानुपातिकतर्फ पनि परम्परागत ठूला शक्तिहरूलाई पछाडि छाडेको छ ।
शीर्ष चार दलपछि अन्य साना दलहरूले पनि केही सयको संख्यामा मत बटुलेका छन् । श्रम संस्कृति पार्टीले दुई सय २२ मत ल्याएर पाँचौं स्थान बनाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले एक सय ७९ र राष्ट्रिय परिवर्तन पार्टीले एक सय ३३ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेपाल जनता संरक्षण पार्टीले ५८, नेपाल मजदुर किसान पार्टीले ३३ र प्रगतिशील लोकतान्त्रिक पार्टीले ३२ मत आफ्नो पोल्टामा पारेका छन् । जनमत पार्टीले ११ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र) ले समान ५–५ मत मात्र पाएका छन् । यसैगरी राष्ट्रिय जनमोर्चाले आठ र नेकपा (माले) ले पनि आठ मत प्राप्त गरेको छ ।