बिहिबार, २९ असोज २०८३
बिहिबार, २९ असोज २०८३ · राजनीति
काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका सबै पदको मतपरिणाम आज साँझसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ भने सहमहामन्त्री तथा केन्द्रीय सदस्यका केही पदको मतगणना जारी छ।
सभापति पदमा गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला विजयी भएका छन्। सहमहामन्त्रीका विभिन्न समूहमा रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, बहादुर सिंह लामा र जीवनबहादुर शाही निर्वाचित भएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न टोली बनाएर मतगणना भइरहेको छ। निर्वाचन समितिले बाँकी रहेका क्लस्टरको मतगणना अन्तिम चरणमा पुगेको जनाएको छ। सबै पदको मतपरिणाम आजै सार्वजनिक गरी महाधिवेशनका औपचारिक काम सम्पन्न गर्ने तयारी गरिएको छ।