बिहिबार, ०३ वैशाख २०८३
बुधबार, ०६ फागुन २०८२ · समसामयिक
केहि वर्ष अघिसम्म बिहानै पत्रिका चहार्दै नजिकैको पसल पुग्ने वानी परेकाहरुको अहिले आदतमा परिवर्तन आएको छ । उनिहरु अहिले बिहानै बेडबाट सामाजिक सञ्जालका भिडियो, फोटो तथा अन्य सामग्री स्क्रोल गर्न व्यस्त हुन्छन् । समाचारको लागि एफ एम रेडियोको बुलेटिन कुर्ने कुरा बिगत मात्रै भएको छैन, रेडियो बारेमा अनभिज्ञ नयाँ पुस्ताको संख्या बढ्दैछ । भित्तामा अडिएका टेलिभिजनहरुले दर्शक दिनप्रतिदिन गुमाउदै गएका छन् । अर्थात परम्परागत सञ्चारमाध्यम दर्शकबाट टाढिन थालेका छन् ।र, सँगँगै इन्टरनेट प्रविधीको विकाससँगै परम्परागत सञ्चारमाध्यमबाट पाठक स्रोता र दर्शकपनि पलायन भएका छन् । पलायन भएका यस्ता पाठक स्रोता र दर्शकले के अहिले सहि माध्यमबाट सुचना लिइरहेका छन् त ?
प्रविधिको विकाससँगै इन्टरनेटको माध्यमबाट समाचार दिन नेपालमा मात्रै ४३ सय बढि अनलाइन न्युज पोर्टलहरु दर्ता भइसकेका छन् । तर, पत्रकारिताको सिद्धान्त, मूल्य मान्यता र राज्यको चौथो अंगको भूमिका खेल्दै पाठकहरुलाई समाचार दिन भनेर दर्ता भएका यस्ता न्युज पोर्टलले पाठक भने खासै पाएका छैनन् । बरु पाठक तथा दर्शक सम्पादन नभएका मात्रै हैन, आधारहिन सुचना तथा जानकारी, फोटो तथा भिडियो राख्दा पनि जवाफदेहि बन्नु नपर्ने सामाजिक सञ्जालमै व्यस्त देखिन्छन् । आखिर यस्तो स्थिती किन आयो त ?
पहिलो, पाठकलाई जहाँ आएको सुचना पनि उस्तै हो भन्ने भ्रम छ । सामाजिक सञ्जालमा आएको सुचना र न्युज पोर्टलमा आएको सामग्रीको अन्तर पाठकले भेउ पाएका छैनन् । र, दोस्रो न्युज पोर्टल आफैले सत्य सुचना दिन्छौ भनेर भ्रम चिर्न सफल हुन सकिरहेका छैनन् । किनभने उनिहरु नै जनताका आवाज भन्दा नेताका भाषण प्रकाशन तथा प्रसारण गर्न व्यस्त भएको आमपाठकको बुझाई मात्रै हैन, त्यसमा केहि सत्यता पनि छिपेको छ । र, समाचार दिन भन्दै दर्ता भएकाहरुको सामग्रीमै विश्वासको खडेरी देखिएको छ ।
त्यसैले जेन नेपाल यो बेलामा केबल ४३ सयको संख्यामा रहेका अनलाइन सञ्चारमाध्यममा थपिन मात्रै आएको छैन । व्यवसायिक पत्रकारिताको अभावमा आम पाठक तथा दर्शकहरु सुचना पाउनका लागि सामाजिक सञ्जालमा बानी परेका बेलामा बेलामा हामी तथ्यपरक र जनताको आवाज उठाउन आएका छौ । हामी आयोजना तथा कार्यक्रम उद्घाटन र भाषणका समाचार भन्दा उद्घाटनपछिको प्रगति र भाषणको तथ्यगत चिरफारमा विश्वास राख्छौ । त्यो आगामी दिनको सामग्रीमा देखिदै जानेछ ।
जेन नेपाल कुनै एक उमेरसमुहको मात्रै हैन, सबै उमेरसमुहको आवाज बन्न चाहन्छ । जसका लागि नै हाम्रा आगामी केन्द्रित रहनेछन् । र, कुनै निश्चीत स्वार्थ समुहको हितका लागि माध्यम बन्ने भन्दा पनि आवाज बिहिन जनताको आवाज चर्काे बनाउने हाम्रो प्रयास रहनेछ । विश्वास छ, हामीलाई सञ्चारमाध्यमका सामग्रीमा गुम्दै गएको विश्वास हामी पर्काउन सफल हुनेछौ । हामी बाचा गर्न चाहन्छौ कि हामी समाचारको आवरणमा बिज्ञापन पस्कनेछैनौ । र, बिज्ञापनदाता रिजाउनकै लागि समाचार लुकाइने छैन । देश र जनताको हित विपरित हुने कुनैपनि कार्यको हामी चिरफार गरि सत्य तथ्य बाहिर ल्याउन प्रतिवद्ध छौं । व्यवसायिक पत्रकारिता गर्ने हाम्रो अठोटका लागि हामीलाई आम पाठक र दर्शकको साथ जरुरी छ ।