logo-image

बिहिबार, ३२ असार २०८३

बस्तीमा आतंक मच्चाउने ‘ध्रुवे’ हात्तीकाे घाँटीमा स्याटेलाइट कलर जडान, काटियो दाह्रा

बिहिबार, ३२ असार २०८३ · समसामयिक

बस्तीमा आतंक मच्चाउने ‘ध्रुवे’ हात्तीकाे घाँटीमा स्याटेलाइट कलर जडान, काटियो दाह्रा

चितवन, असार ३२ ।  चितवन राष्ट्रिय निकुञ्जले लगातार मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्‍याउँदै आएको जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर जीपीएस प्रविधिमा आधारित स्याटेलाइट कलर जडान गर्नुका साथै यसको दाह्रा काटेर पुनः जंगलमै छाडेको छ।

निकुञ्ज कार्यालयले मध्यरात जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवेको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको दुःखद मृत्यु भएपछि निकुञ्ज प्रशासन, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, मध्यवर्ती उपभोक्ता समिति, वडा कार्यालय तथा स्थानीय सरोकारवालाहरूबीच तीव्र समन्वय गरी उक्त हात्तीको निरन्तर खोजी तथा निगरानी भइरहेको थियो।

वर्षायामको प्रतिकूल मौसम र निकुञ्जभित्रको घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन निकै कठिनाइ भए तापनि निकुञ्ज र प्राविधिकहरूको संयुक्त टोलीले असार ३१ गते साँझ करिब १०:३० बजे सुखीभार पोष्ट नजिकै ध्रुवेलाई बेहोस बनाई नियन्त्रणमा लिन सफल भएको हो। नियन्त्रणमा लिएलगत्तै भविष्यमा मानवमाथिको भौतिक जोखिम कम गर्ने उद्देश्यले हात्तीको दाह्रा काटिनुका साथै यसको चौबीसै घण्टा निगरानी गर्न घाँटीमा स्याटेलाइटमा आधारित जीपीएस कलर जडान गरिएको निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यो जीपीएस कलर जडान भएपछि हात्तीको अवस्थिति छोटो समयमै पत्ता लगाउन र नियमित निगरानी गर्न सहज हुनेछ, जसले गर्दा हात्ती मानव बस्तीमा पस्नु अगावै समयमै सूचना प्रवाह गरी मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।