बिहिबार, २५ असार २०८३
बुधबार, २४ असार २०८३ · अर्थ
काठमाडौ असार २४ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । तर यो मौद्रिक नीति मु्लुकको अहिलेको समस्या पहिचान गरि त्यसको निराकरण गर्नका लागि भने चुकेको विज्ञहरुले बताएका छन् ।
मुलुकमा आर्थिक शिथिलता छ भने बैंकिङ प्रणालीमा उच्च तरलता र निजी क्षेत्रको लगानी घटिरहेको बेलामा बजारलाई स्पष्ट कार्यदिशा दिन नसक्ने खालको मौद्रिक नीति आएको छ ।
राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा यो मौद्रिक नीतिले अहिलेको समस्या समाधान गर्न नसक्ने बताउनुहुन्छ। उहाले भन्नुभयो ' लगानी हुन नसकेको अवस्थामा बजारलाइ कुनै सन्देश दिन नसक्ने गरि मौद्रिक नीति आएको छ ' ।
उनका अनुसार सुस्त अर्थतन्त्रलाई गति दिने विषयबीच स्पष्ट मार्गचित्र नदेखिँदा बजारमा दिशाविहीनताको सन्देश गएको छ। नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकले संरचनागत सुधार र ट्रान्समिसन मेकानिजम चुस्त बनाउन प्राथमिकता दिएको दाबी गरे पनि निजी क्षेत्र अझै अन्योलमा देखिएको छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदरको अवस्था हुँदाहुँदै पनि कर्जा विस्तार र लगानी प्रोत्साहनका ठोस उपाय नआउँदा बजारले सकारात्मक ऊर्जा पाउन सकेको छैन।यस पटकको मौद्रिक नीतिमा विश्लेषणको स्पष्टता अभाव र विरोधाभासपूर्ण बुँदाहरू समेत देखिएका छन्, जसले बजारमा थप अन्योल बढाउने संकेत गरेको छ। नीतिको पाँचौँ बुँदामा पेट्रोलियम पदार्थ र खाद्य वस्तुको मूल्य वृद्धिका कारण केही महिना मुद्रास्फीति उच्च रहने जोखिम औँल्याइएको छ भने, लगत्तै १६ नम्बर बुँदामा आगामी महिनादेखि मुद्रास्फीतिको दबाब घट्ने उल्लेख छ। एउटै नीतिभित्र देखिएको यस्तो फरक विश्लेषणका बाबजुद पनि वार्षिक मुद्रास्फीति ५.५ प्रतिशतभित्रै सीमित राख्ने प्रक्षेपण गरिएको छ।
यसका साथै आवश्यक परेको खण्डमा नीति परिवर्तन गर्न सकिने लचिलो व्यवस्था राखिए पनि यसले बजारमा स्थायित्व दिनुको सट्टा नीतिगत अनिश्चितताको संकेत गरेको छ। समग्रमा, संरचनागत सुधारमा केन्द्रित देखिए पनि तत्कालका लागि अर्थतन्त्रलाई गति दिने र लगानीकर्तामा आत्मविश्वास भर्ने ठोस योजना स्पष्ट नहुँदा यो मौद्रिक नीति गन्तव्यविहीन र अपेक्षा पूरा गर्न असमर्थ देखिएको छ।