बिहिबार, ०३ वैशाख २०८३
शुक्रबार, ०८ फागुन २०८२ · अर्थ
जेननेपाल संवाददाता
काठमाडौं, फागुन ८ । चुनावको मौका पारेर उद्योगी तथा व्यवसायिले अस्वाभाविक रुपमा भाउ बढाउन थालेका छन् । सबैभन्दा बढि तेल उद्योगीले अस्वाभाविक रुपमा भाउ बढाएको देखिन्छ । चुनावका बेलामा बजारमा अनुगमन नहुने र अस्वाभाविक भाउ राख्नेहरुलाई नै राजनीतिक संरक्षण हुने भएकाले एकाएक बजारमा भाउ बढाएको देखिन्छ ।
गत पुस १५ को तुलनामा अहिले खाने तेलको भाउ कार्टुनमै २ सय ५० रुपैयाँसम्म बढेको ब्यापारीहरु बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा परिवर्तन नआउँदा पनि तेलको भाउ अस्वाभाविक रुपमा बढेको हो । कालीमाटीका थोक ब्यापारीहरु तेल उद्योगीले भारतमा तेल निर्यातगरि यहाँ अभाव सिर्जना गरि भाउ बढाएको बताउँछन् ।
एक ब्यापारीले भने ‘ चुनावको मौका पारेर तेल उद्योगीले एकाएक भाउ बढाएका छन्, नेतालाई चन्दा दिने अनि जनताको छाकमा मूल्य बढाउने काम भएको छ । ’
तेल ब्यापारीले यो पटक मात्रै हैन चुनावको मौका पारेर २०६४ सालको चुनावमा पनि एकाएक भाउ बढाएका थिए ।
खुद्रा ब्यापार संघका अनुसार गत पुस १५ मा एक लिटर सनफ्लावर तेलको भाउ २ सय ६० रुपैयाँ थियो । जुन अहिले २ सय ७५ रुपैयाँ कायम भएको छ। दैनिक ३ पटककै खानामा प्रयोग हुने तेल एकाएक महंगो भएपछि उपभोक्ता मारमा परेका छन् ।
थोक व्यापारीहरु दाल तथा चामलको पनि एकाएक भाउ बढेको बताउँछन् । एक महिना अघिसम्म ३ हजार पर्ने विभिन्न ब्राण्डका चामल अहिले बोरामा २ सय रुपैयाँसम्म बढेको मूल्यमा बिक्री हुने गरेका छन् ।
नेवारी गत पुष १५ मा बोराको ३ हजार पर्ने गरेकामा अहिले ३२ सय मूल्य कायम भएको थोक ब्यापारीहरु बताउँछन् । त्यस्तै आरती चामल पनि बोराको २९ सय बाट ३१ सय कायम भएको छ ।
दालको पनि भाउ बढेको छ । मुुसुरो तथा तथा मुङ खोस्टा दालको भाउ किलोमै ५ रुपैयाँ देखि २० रुपैयाँसम्म बढेको छ ।
बजारमा अहिले दाल तेल र चामलको भाउ बढ्न थालेको छ । गत बजार भाउ बढेपनि किन दैनिका उपभोग्य सामग्री किन महंगो भयो भनेर ग्राहक जानकार छैनन् ।