आइतबार, १७ जेठ २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २२ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर अप्रत्याशित र प्रभावशाली नतिजा निकालिरहेको छ। विशेषगरी काठमाडौँ उपत्यका र झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवारहरूले पुराना राजनीतिक दलका दिग्गज नेताहरूलाई निकै पछाडि पारेका छन्।
झापा क्षेत्र नम्बर ५ मा रास्वपाका नेता बालेन्द्र शाह (बालेन) को विजय लगभग निश्चित देखिएको छ। प्रारम्भिक मतगणनामा उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दोब्बरभन्दा बढी मतान्तरले पछाडि पारेका छन्।
आफ्नो जित सुनिश्चित देखेपछि बालेन आज नियमित उडानमार्फत झापातर्फ प्रस्थान गरेका छन्। हिजो हेलिकप्टरमार्फत जाने प्रयास गरे पनि मौसमका कारण अवतरण हुन नसकी उनी काठमाडौँ फर्किएका थिए। झापामा अहिले रास्वपाका कार्यकर्ताहरूले विजय उत्सव मनाउने तयारी गरिरहेका छन्।
उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपाको दबदबा
काठमाडौँ उपत्यकाका कुल १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाले अग्रता लिएर 'क्लिन स्वीप' गर्ने संकेत देखाएको छ। रास्वपाकी रञ्जु दर्शनाले १५,४५५ मतका साथ जित सुनिश्चित गरेकी छन्। यद्यपि, निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।काठमाडौँका अन्य क्षेत्र, काठमाडौँ–२ मा सुनील केसी, काठमाडौँ–४ मा पुकार बम, र काठमाडौँ–५ मा सस्मित पोखरेल अगाडि छन्। विशेषगरी काठमाडौँ–३ मा राजुनाथ पाण्डेले कुलमान घिसिङलाई पछि पार्दै अग्रता कायम गरेका छन्। त्यस्तै क्षेत्र नम्बर ७ मा गणेश पराजुलीको अग्रता कायमै छ। काठमाडौं– ८ बाट रास्वपाकै विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् ।
भक्तपुर र ललितपुरको अवस्था
भक्तपुरका दुवै क्षेत्रमा रास्वपाले आफ्नो वर्चस्व कायम गरेको छ। भक्तपुर–१ मा रुकेश रञ्जित र क्षेत्र नम्बर २ मा राजिव खत्री अग्रस्थानमा छन्।
ललितपुरमा पनि रास्वपाको लहर देखिएको छ। ललितपुर–३ मा डा. तोसिमा कार्की र क्षेत्र नम्बर २ मा जगदिश खरेलले अग्रता लिइरहेका छन्। तर, ललितपुर–१ मा भने नेपाली कांग्रेसका उदयशमशेर राणाले आफ्नो अग्रता जोगाउन सफल भएका छन्, जुन उपत्यकामा रास्वपा अगाडि नभएको एक मात्र क्षेत्र बनेको छ।
देशभरि नै 'घण्टी' चुनाव चिह्न भएका उम्मेदवारहरूको उदयले पुराना र स्थापित राजनीतिक शक्तिहरूलाई ठूलो चुनौती थपिदिएको छ।