logo-image

बुधबार, ११ कात्तिक २०८३

पोखराका ग्रामीण बस्तीमा होमस्टेको आकर्षणः पर्यटकको चहलपहलले ब्युँझियो ग्रामीण अर्थतन्त्र (तस्बिरसहित)

बुधबार, ११ कात्तिक २०८३ · समसामयिक

पोखराका ग्रामीण बस्तीमा होमस्टेको आकर्षणः पर्यटकको चहलपहलले ब्युँझियो ग्रामीण अर्थतन्त्र (तस्बिरसहित)

काठमाडौं, कात्तिक ११ । पर्यटकीय सिजन शुरु भएसँगै पोखरा आसपासका ग्रामीण बस्तीमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । 
शहरको कोलाहलभन्दा टाढा प्रकृतिसँग रमाउन चाहने पर्यटकको रोजाइमा गाउँका होमस्टे पर्न थालेका छन् । सस्तो प्याकेज, स्थानीय खानपान, मौलिक संस्कृति र हिमशृङ्खलाको मनमोहक दृश्यले पर्यटकलाई गाउँतर्फ आकर्षित गरेको हो । दशैँ सकिएलगत्तै कास्कीका विभिन्न ग्रामीण बस्तीमा पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालकहरू उत्साहित भएका छन् । पोखरा महानगर आसपासका डाँडाकाँडामा रहेका होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाको उपस्थिति बढ्दै गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित हेम्जाकोटमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । हिमश्रृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण र गाउँको मौलिक जीवनशैलीले हेम्जाकोट आउने पर्यटकलाई आकर्षित गरिरहेको छ । पोखरा घुम्न आउने पर्यटकसमेत नजिकैका ग्रामीण बस्तीमा पुगेर केही समय बिताउन रुचाउन थालेका छन् । 
ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) का सचिव भीमराज पौडेलकाअनुसार पोखरा आउने पर्यटकलाई आसपासका गाउँसम्म पु¥याउनसके ग्रामीण पर्यटनले थप गति लिनसक्छ । प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्यताका कारण गाउँका होमस्टे पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको उहाँले बताउनु भयो । होमस्टेमा अहिले पाहुनाहरुको आगमन राम्रो रहेको बताउनु भयो । हप्ताको दुई दिन बिदा भएकाले शुक्रवार र शनिवार धेरै पर्यटकहरु आउने गरेको उहाँको भनाइ छ । 
पर्यटकीय सिजन शुरु भएसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष पाहुनाको उपस्थिति उल्लेख्य रूपमा बढेको भन्दै होमस्टे सञ्चालक उमा गुरुङ पनि खुशी हुनुहुन्छ । पर्यटकको आगमन बढ्दा स्थानीयस्तरमै आम्दानीको अवसर सिर्जना भएको उहाँको भनाइ छ । कोरोनापछि ठप्प भएको होमस्टे अहिले पुनः तंग्रिएको उहाँको भनाइ छ । 
गाउँमा पर्यटक पुग्न थालेपछि स्थानीय गतिविधि पनि बढेका छन् । होमस्टेमा पाहुनालाई सहज र आत्मीय अनुभव दिलाउन सञ्चालकहरूले मौलिक घर, स्थानीय परिकार, प्राकृतिक वातावरण र परम्परागत आतिथ्यतालाई प्राथमिकता दिन थालेका छन् । पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलकाअनुसार गाउँमा पर्यटकको बसाइलाई सहज र आकर्षक बनाउन विभिन्न तालिम तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । मानिसहरु प्रकृतिसँग रमाउने भएकाले पोखराका होमस्टेहरु उपयुक्त बन्दै गएको बताउनु भयो । रैथाने खानेकुराका कारण पनि गाउँ मन पर्ने गरेको उहाँको भनाइ छ । पर्यटकलाई बस्ने सुविधासँगै स्थानीय संस्कृति, मौलिक घर र खानपानको अनुभव दिलाउन सके ग्रामीण पर्यटनबाट स्थानीय समुदायले थप लाभ लिन सक्ने उहाँको भनाइ छ । 
दशैँपछि कास्कीका गाउँमा बढेको पर्यटकको चहलपहलले ग्रामीण पर्यटनमा नयाँ उत्साह थपेको छ । प्रकृतिसँग नजिक रहेर मौलिक जीवनशैलीको अनुभव लिन चाहने पर्यटकको आकर्षण बढ्दै जाँदा गाउँका होमस्टे स्थानीय रोजगारी र आम्दानीको महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल