आइतबार, ३१ जेठ २०८३
आइतबार, ३१ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई परम्परागत आर्थिक मोडेलबाट बाहिर निकालेर नयाँ युगको आर्थिक दिशातर्फ डोर्याउनुपर्ने बताएका छन्। सूचना प्रविधि (आईटी), कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा र आर्थिक कूटनीतिको एकीकृत प्रयोगबाट मात्रै नेपालको वास्तविक आर्थिक रूपान्तरण सम्भव हुने उनको दाबी छ।
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) द्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको आईटी क्षेत्रले चमत्कारी रूपमा विकास गरिरहेको उल्लेख गरे। इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) को पछिल्लो अध्ययनलाई उद्धृत गर्दै उनले नेपालको आईटी निर्यात ५० करोड अमेरिकी डलर (करिब ६६ अर्ब रुपैयाँ) नाघिसकेको जानकारी दिए।
हाम्रो परम्परागत वस्तु निर्यातभन्दा आईटी क्षेत्र ठूलो भइसकेको छ," डा. वाग्लेले भने, "नेपालमै बसेर युवाहरूले गिग वर्क र डिजिटल सेवामार्फत सम्मानजनक र आकर्षक रोजगारी पाइरहेका छन्, यसलाई राज्यले संस्थागत गर्नुपर्छ।"
अर्थमन्त्री वाग्लेले अबको नेपालको प्रमुख एजेन्डा ‘सोभरेन एआई कम्प्युट सेन्टर’ स्थापना हुनुपर्नेमा जोड दिए। एआई विकासका लागि आवश्यक पर्ने उच्च क्षमताको जिपियु (GPU) र कम्प्युटिङ पूर्वाधार जुटाउन सरकार–सरकार (जीटुजी) तह र अन्तर्राष्ट्रिय साझेदारहरूसँग उच्चस्तरीय पहल भइरहेको उनले खुलासा गरे।
नेपालको जलविद्युतलाई 'कच्चा पदार्थ' का रूपमा विदेश निर्यात गर्नुभन्दा देशभित्रै एआई कम्प्युटिङ र डाटा प्रोसेसिङमा खपत गर्नुपर्ने उनको फरक मत थियो। "हामीले सिधै बिजुली बेच्नुभन्दा देशभित्रै डाटा सेन्टर चलाएर कम्प्युटिङ पावर बेच्न सक्यौँ भने १० देखि १०० गुणासम्म बढी मूल्य (भ्यालु एडिसन) सिर्जना गर्न सकिन्छ," अर्थमन्त्रीले प्रस्ट्याए।
डायस्पोरा र आर्थिक कूटनीति
विश्वभर छरिएर रहेका करिब एक करोड नेपालीको सञ्जाल र पुँजीलाई मुलुकको हितमा प्रयोग गर्नुपर्ने बेला आएको वाग्लेले बताए। डिजिटलाइजेसन, लोकतन्त्र र नेपाली डायस्पोरालाई त्रिकोणात्मक रूपमा जोड्दै अबको परराष्ट्र नीतिलाई पूर्ण रूपमा 'आर्थिक कूटनीति' मा ढाल्नुपर्ने उनको भनाइ थियो।
यद्यपि, मुलुकको कर्मचारीतन्त्रको कार्यशैली र नीतिगत ढिलासुस्ती सुधारको मुख्य बाधक रहेको उनले स्वीकार गरे। "कर्मचारीतन्त्रमा जोखिम लिन नचाहने प्रवृत्ति हाबी छ। जबसम्म सुधारवादी र गतिशिल कर्मचारीलाई प्रोत्साहन र संरक्षण दिइँदैन, तबसम्म सोचेजस्तो गति लिन सकिँदैन," उनले भने।
वित्तीय क्षेत्रमा नवीनता: पीटूपी लेन्डिङ
परम्परागत विदेशी सहायता र अनुदानमुखी सोचबाट नेपाल अब बाहिर निस्कनुपर्ने बहस डा. वाग्लेले छेडेका छन्। छिमेकी मुलुक भारतलगायत विश्व बजारको अभ्यासलाई हेर्दै नेपालमा पनि 'पियर–टु–पियर' (पीटूपी) लेन्डिङजस्ता आधुनिक र नवीन वित्तीय उपकरणहरूको कानुनी विकास गरिने उनले बताए।
चालु आर्थिक वर्षको बजेटलाई पूर्ण रूपमा उद्यममैत्री बनाउन प्रयास गरिएको दाबी गर्दै अर्थमन्त्री वाग्लेले आगामी निर्वाचनपछि नेपाललाई उच्च आर्थिक वृद्धिको मार्गमा लैजानका लागि अहिले बलियो आधार तयार पारिएको दाबी गरे।
सर्वोकृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
३ घण्टा अगाडि
मनसुन शुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा
३ घण्टा अगाडि