logo-image

आइतबार, ३१ जेठ २०८३

हाइटीलाई १–० गोल अन्तरले पराजित गर्दै स्कटल्यान्ड, अब स्कटल्यान्ड समूह ‘सी’ को शीर्ष स्थानमा

आइतबार, ३१ जेठ २०८३ · खेलकुद

हाइटीलाई १–० गोल अन्तरले पराजित गर्दै स्कटल्यान्ड, अब  स्कटल्यान्ड समूह ‘सी’ को शीर्ष स्थानमा

जेठ ३१ । २८ वर्षपछि विश्वकपको मञ्चमा फर्किएको स्कटल्यान्डले ऐतिहासिक जितसहित सानदार सुरुवात गरेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा हाइटीलाई १–० गोल अन्तरले पराजित गर्दै स्कटल्यान्डले महत्त्वपूर्ण ३ अंक जोडेको हो।

यो जितसँगै स्कटल्यान्ड समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिन सफल भएको छ भने उसको नकआउट चरणमा पुग्ने सम्भावना समेत बलियो बनेको छ। जारी विश्वकपमा जित निकाल्ने स्कटल्यान्ड पहिलो युरोपेली राष्ट्र समेत बनेको छ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाए पनि फिनिसिङमा चुकेका थिए। खेलको १७ औं मिनेटमा स्कटल्यान्डका स्टार खेलाडी स्कट म्याकटोमिनेको सशक्त प्रहार पोस्टमा लागेर फर्किएपछि टोलीले सुरुवाती अग्रता लिने सुन्दर मौका गुमाएको थियो।

तर, खेलको २८ औं मिनेटमा स्कटल्यान्डले सफलता हात पार्यो। 'ड्रिंक्स ब्रेक' लगतै सम्हालिएको स्कटल्यान्डका लागि जोन म्याकगिनले निर्णायक गोल गरे। सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डका लागि म्याकगिनको यो गोल ऐतिहासिक महत्त्वको बनेको छ, जुन खेलको निर्णयका लागि पर्याप्त रह्यो।

स्कटल्यान्डको जितसँगै समूह ‘सी’ मा रोचक समीकरण बनेको छ। यसअघि भएको खेलमा उपाधि दाबेदार ब्राजिल र मोरक्कोले बराबरी खेल्दै अंक बाँडेका थिए।

पहिलो खेलमै स्पष्ट जित निकालेको स्कटल्यान्डले अब अर्को खेलमा बलियो टोलीहरूको सामना गर्दा मानसिक रूपमा अग्रता पाउने देखिन्छ भने पराजित हाइटीलाई अर्को चरणमा पुग्न आगामी खेलहरू जित्नैपर्ने दबाब सिर्जना भएको छ।