logo-image

आइतबार, १३ मंसिर २०८३

एन्फा निर्वाचन नजिकिँदै गर्दा खेलाडीले लगाए ताला

सोमबार, २५ फागुन २०८२

आगामी चैत १३ गते निर्वाचन घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) मा नेपाल फुटबल खेलाडी संघले आइतबार ताला लगाएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा खेलाडीहरूले तीन बुँदे माग राख्दै ताला लगाएका हुन् । एन्फा निर्वाचन समितिले आगामी चैत १३ गते झापामा निर्वाचन हुने घोषणा गरिसकेको छ । उक्त निर्वाचनमा मातदान गर्ने ८७ जनामध्ये एक नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा पनि हुन् । लामाकै नेतृत्वमा लामो समयदेखि शीर्ष डिभिजन लिग आयोजना गर्न भन्दै आन्दोलनसमेत हुँदै आएको छ । आईतवार पनि लामाको नेतृत्वमा तीन दर्जन हाराहारीका खेलाडीको टोली तीन बुँदे माग राख्दै एन्फा मुख्यालयमा ताला लगाएका छन् । छलफलका लागि एन्फा नेतृत्व अनुपस्थित भएपछि खेलाडीले तालाबन्दीको विकल्प रोजेका छन् । 
‘हामी वार्ताका लागि तयार थियौं । प्रत्यक्ष रुपमा आमनेसामने छलफल गरेर समस्याको हल गर्ने हाम्रो योजना थियो । तर उहाँहरु आउनुभएन । पटकपटकका वार्ता र सडक संघर्षका बावजुद हाम्रा मागहरु एन्फाले बेवास्ता गर्दै आएको छ । त्यसैले हामी तालाबन्दीको निर्णयमा पुगेका हौं,’ अध्यक्ष लामाले भने । खेलाडी संघले तीन वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण र ९ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् । उनीहरूको कुरालाई सम्बोधन गर्न एन्फा नेतृत्व उपस्थित थिएन । लामाले अक्षय कोषबाट नै सावित्रा भण्डारीको उपचारका लागि सहयोग हुनुपर्ने भए पनि एन्फाले नगरेको आरोप लगाए । 
‘गत वर्ष अक्षय कोषमा एकै प्रतियोगिताबाट ६५ लाख रुपैयाँ जम्मा हुनुपर्ने थियो । तर, कोषको अपारदर्शिताका कारण हामीले त्यसबारे जानकारी पाउन सकिरहेका छैनौं,’ लामाले भने, ‘त्यही पैसाबाट हामीले सावित्रा भण्डारीलाई उपचारका लागि १० देखि १५ लाख उपलब्ध गराउन सक्थ्यौं । तर, एन्फा नेतृत्वको लाचारीपनले हामी आफैले कमाएको पैसा उपयोगबाट बञ्चित भइरहेका छौं । सावित्रा जस्ता खेलाडीको उपचारका लागि पनि आम जनतासँग सहयोग माग्न बाध्य भइरहेका छौं ।’ खेलाडीले मुख्यालयभित्र रहेका प्रशिक्षक, कर्मचारीलाई बाहिर पठाउँदै तालाबन्दी गरेका थिए । खेलाडीहरुले सहिद स्मारक ‘ए’ लिग यसै वर्ष हुनुपर्ने अडान लिएका छन् । अहिले राष्ट्रिय लिग भइरहेको छ । जुन राष्ट्रिय लिग चैत २९ गते सम्म चल्नेछ । उनीहरूले शीर्ष डिभिजन लिग पनि गनुपर्ने माग राखेका छन् ।

न्युज एजेन्सी नेपाल