शुक्रबार, २६ असार २०८३
शुक्रबार, २६ असार २०८३ · राजनीति
काठमाडौं, असार २६ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको विषयलाई लिएर शुक्रबार संसद्को रोष्टममा उभिएका गृहमन्त्री भावुक र आक्रामक रूपमा प्रस्तुत हुनुभएको छ। घटनाको विवरण दिँदै गर्दा गम्भीर र भावुक बन्नुभएका गृहमन्त्रीले विपक्षी दलका सांसदहरूले संसद्मा गरिरहेको विरोधप्रति कडा आक्रोश समेत पोख्नुभयो।
संसद्मा केवल चर्को आवाज उठाउने तर संकटको बेला नदेखिने प्रवृत्तिमाथि कटाक्ष गर्दै गृहमन्त्रीले प्रश्न गर्नुभयो, "मैले धेरै माननीयज्यूहरू उठेर सदनमा घाँटी सुक्ने गरी चिच्याइरहनुभएको देखेँ। तर म यो सम्मानित सदनलाई सोध्न चाहन्छु– हिजो त्यो हस्पिटलमा (विपक्षका) कति जना हुनुहुन्थ्यो?"
सदनमा मात्र कराएर जनताको सेवा नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, "जनताको सेवा गर्छु भनेर मुखले बोलेको पचासौं वर्ष भइसक्यो, अब हामीले हातले काम गरेर देखाउनुपर्छ। ठाउँमा गएर, जनताको पीडा बुझेर सेवा गर्न सक्नुपर्दछ।"
सरकारले पीडितको उपचारका लागि गरेको प्रयासलाई विपक्षीले 'स्टन्टबाजी' भनेकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, "हामी गृह मन्त्रालयमा बसेर के गर्ने, कसरी सान्त्वना दिने भनेर टिम बनाएर छलफल गरिरहेका थियौँ। हामी देशको सेवा गर्न आएका हौँ। देश दुर्घटनामा जाला कि भनेर हत्केलामा पानी राखेझैँ सावधानीपूर्वक विस्तारी हिँड्दै हामी यहाँसम्म आएका हौँ, तर तपाईंहरू त्यसलाई स्टन्टबाजी भन्नुहुन्छ! मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन।"
मन्तव्यको अन्त्यतिर निकै भावुक बन्दै गृहमन्त्रीले अथक प्रयासका बाबजुद पनि गणेश नेपालीलाई बचाउन नसकिएकोमा गहिरो दुःख व्यक्त गर्नुभयो। "नेपाल सरकारको तर्फबाट हामी एक इन्च पनि दायित्व छाड्दैनौं, पूरै गर्छौं। नचाहँदा नचाहँदै पनि हाम्रो अथक प्रयासपछि आज हाम्रो गणेश नेपाली भाइ हामीमाझ हुनुहुन्न," उहाँले भन्नुभयो, "म बुझ्छु यी प्रश्नहरू, तर हामी त्यहाँ हुँदा हाम्रो 'बेस्ट' दिएको हो। मलाई ढाँट्न आउँदैन। यो गरिमामय सदनलाई ढाँट्दा सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु। मलाई यसरी ढाँट्न मन लाग्दैन।"