बुधबार, ३१ असार २०८३
सोमबार, २५ जेठ २०८३ · अर्थ
काठमाडौ जेठ २५ । नेपाल र भारतबिच सीमापार डिजिटल भुक्तानी (क्रसबोर्डर अनलाइन पेमेन्ट) सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ ।अब दुवै देशका नागरिकले घरमै बसेर आफ्नो मोबाइल बैंकिङ वा डिजिटल वालेटमार्फत सजिलै र सुरक्षित रूपमा रकम ‘ट्रान्सफर’ र भुक्तानी गर्न सक्नेछन् ।
नयाँदिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच भएको उच्चस्तरीय बैठकमा यस्तो सहमति भएको हो । यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबिच भएको साझेदारीलाई दुइ देशका मन्त्रीस्तरीय बैठकले पूर्णता दिएको हो ।
यो सम्झौतासँगै भारतको भुक्तानी प्रणाली (युपिआई) र नेपालको प्रणाली (एनपिआई) एक–आपसमा जोडिएका छन् । यसअघि सन् २०२३ को सम्झौताअनुसार भारतीय पर्यटकले मात्र नेपालमा क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न पाउने व्यवस्था थियो । नयाँ सहमतिले नेपाली नागरिकलाई पनि भारत भ्रमण जाँदा मोबाइलबाटै सामान खरिदको भुक्तानी गर्ने बाटो खोलेको छ ।
नियामकीय व्यवस्थाअनुसार नेपालबाट भारततर्फ रकम पठाउँदा दैनिक अधिकतम १५ हजार भारु र मासिक एक लाख भारुसम्म मात्र पठाउन सकिनेछ । भारतबाट नेपालतर्फ पैसा पठाउँदा भने दैनिक अधिकतम २ लाख भारुसम्म पठाउन मिल्नेछ। दुई देशबिच डिजिटल प्रविधिको विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा पनि सहकार्य गर्ने निर्णय भएको छ । नेपालको एआई प्लाटफर्म विकासका लागि भारतले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।