मङ्गलबार, १२ जेठ २०८३
मङ्गलबार, १२ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १२ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र साह संसदसंग किन तर्सिरहेको भन्दै प्रश्न उठाएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदबाट टाढा रहन खोजेको आरोप लगाउनु भयो ।
यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसदसँग किन त्रसित छ ? संसदलाई छल्ने प्रयास किन भइरहेको छ ? उहाँको प्रश्न छ । प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाउँदै उहाँले सरकार संविधान र संसदीय अभ्यासविपरीत अघि बढिरहेको बताउनु भयो । उहाँले संविधानको धारा ७६(१०) र धारा ८१ को भावना सरकारले उल्लङ्घन गरिरहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार संविधानले प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ, तर प्रधानमन्त्री अहिलेसम्म संसदमा उपस्थित भएर कुनै पनि विषयमा जवाफ दिन आउनुभएको छैन । उहाँले कार्यपालिका र राष्ट्रपतिबीच दूरी सिर्जना गर्ने प्रयास भइरहेको आरोप पनि लगाउनु भयो । राष्ट्रपति संस्थालाई अपमानित र बाइपास गर्ने गतिविधि भइरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘यति धेरै अपार जनमत पाएको सरकार र त्यसको प्रमुख यो संसदसंग किन त्रसिरहनुभएको छ ? संसदसंग किन टाढा भईरहनुभएको छ र यसलाई छल्न खोजिरहनुभएको छ ? आज आम जनता र संसदमा प्रतिनिधित्व गर्ने सबैको यो आम प्रश्न हो । यो संसदले प्रधानमन्त्री उत्पादन ग¥यो, आफूलाई उत्पति गर्ने संसदलाई जुन अवमुल्यन गर्ने काम भईरहेको छ, नेपाली जनतालाई, संसदलाई यसले गम्भिर बनाएको छ । संविधानको धारा ७६ को १० र धारा ८१ को सरकारबाट उल्लङघन गर्ने काम भईरहेको छ । धारा ७६ को १० ले प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने व्यवस्था गरेको छ तर आजसम्म एकपटक पनि प्रधानमन्त्रीले संसदमा आएर कुनैपनि कुराको जवाफ दिनुभएको छैन ।
यसप्रति उहाँको रेस्पोन्स छैन, रेस्पेक्ट छैन । प्राक्टिसहरु जुन छ, त्यसको खण्डन गरिएको छ । अहिले कार्यपालिका र राष्ट्रपतिको बीचमा दुरी पैदा गर्ने काम भईरहेको छ । यो पनि संविधानको गम्भिर उल्लङ्घन हो । यसले प्रश्न उठाएको छ, संविधान संसोधनसम्बन्धी बहस कार्यदल बन्दैछ, कस्तो बहस सिर्जना गर्न खोजिएको हो ? राष्ट्रपति संस्थालाई अपहेलना गरेर र त्यसलाई वाईपास गरेर के गर्न खोजिएको हो ? गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने कुरा सुनिँदैछ, यस्ता गम्भिर प्रश्न उठेका छन्, यसको जवाफ प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ । प्रधानमन्त्रीले संसद निवयावलीमा भएका धेरै कुराहरुलाई अनदेखा गरिहनुभएको छ, उहाँ किन खोपीको देउता बन्न खोज्दै हुनुहुन्छ ? के प्रधानमन्त्री वालेन्द्र साहलाई खोपीको देउता बनाएर घण्टी बजाएर पुजा गर्न लागेको हो ? लोकतन्त्रको चिर हरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ? संविधानको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? यी प्रश्नको जवाफ सदनमा आएर प्रधानमन्त्रीले दिनुपर्छ । प्रधानमन्त्री संसदमा नआई संसदको कारबाही अगाडी बढ्न सक्दैन ।’
गणतन्त्र दिवसमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चा सार्वजनिक भइरहेको भन्दै उहाँले सरकारको भूमिकामाथि थप प्रश्न उठेको बताउनु भयो । यी सबै विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने उहाँको माग छ ।–न्युज एजेन्सी नेपाल
झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्शानी
२८ मिनेट अगाडि