बिहिबार, ०३ वैशाख २०८३
बिहिबार, १९ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र १९ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गर्नुभयो । जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उक्त मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा पनि गर्नुभयो । पार्टी र सरकारले बोलेर भन्दापनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामीले पाएको मत समर्थनको मत मात्र होइन परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु । हामीले बदल्न शुरु गरिसकेका छौँ । अब हामीले बोलेर मात्र हुदैन । रास्वपाका हरेक माननीयहरुले कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामीले राम्ररी बोल्नुभन्दा पनि सरकारका कामहरु अझै राम्रोसँग बोल्नेछन् । ती बोल्न शुरु गरिसकेको कुरा पनि निवेदन गर्न चाहान्छु ।’
उहाँले सुशासनको सवालमा कुनैपनि सम्झोता नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
–न्युज एजेन्सी नेपाल