बिहिबार, १८ भदौ २०८३
शुक्रबार, २७ चैत २०८२ · राजनीति
काठमाडौं, चैत २७ । प्रतिनिधिसभाले आज नयाँ उपसभामुख चयन गर्दैछ। सिंहदरबारस्थित संघीय संसद् भवनमा आज दिउँसो ४:०० बजे मतदान हुने तालिका रहेको छ।
उपसभामुख पदको दौडमा दुई जना उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ५९ वर्षीया सरस्वती लामा र श्रम संस्कृति पार्टी बाट २६ वर्षीया रुबी कुमारी ठाकुर चुनावी मैदानमा उत्रिनुभएको हो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समेत समर्थन रहेकाले रुबी कुमारीलाई यस निर्वाचनको मुख्य दाबेदार मानिएको छ।
संसद् सचिवालयका अनुसार बैठकको सुरुमा प्रधानमन्त्री बालेन्द्र शाहले दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनको प्रतिलिपि टेबुल गर्नुहुनेछ। त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
त्यसपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। सांसद ज्ञानेन्द्र बहादुर शाहीले सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ, जसलाई ताहिर अली भट्ट, खुस्बु ओली र भरत गिरीले समर्थन गर्नुहुनेछ।
अर्कोतर्फ, अरेन राईले रुबी कुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्तावमा अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौलाको समर्थन रहेको छ। दुवै प्रस्तावमाथि सदनमा छलफल भएपछि मत विभाजन मार्फत नयाँ उपसभामुखको छनोट गरिनेछ।