logo-image

मङ्गलबार, १६ भदौ २०८३

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि ८० वटा विद्युतीय उपकरणबाट मतदान हुँदै, सभापतिमा लामिछाने निर्विरोध

बुधबार, १० असार २०८३ · राजनीति

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि ८० वटा विद्युतीय उपकरणबाट मतदान हुँदै, सभापतिमा लामिछाने निर्विरोध

 

चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत आज नयाँ केन्द्रीय समिति चयनका लागि मतदान हुँदैछ। ९९ सदस्यीय केन्द्रीय समितिका लागि ४०० भन्दा बढी नेता-कार्यकर्ताले उम्मेदवारी दर्ता गराएका छन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहेकाले उम्मेदवारहरूको यकिन संख्या संकलन र वर्गीकरण गर्ने काम भइरहेको छ। निर्वाचन आयोगले केही बेरमा उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गर्ने तयारी गरेको छ।

निर्वाचनलाई प्रविधिमैत्री, पारदर्शी र सहज बनाउन आयोगले विशेष व्यवस्था गरेको छ। मतदानका लागि उम्मेदवारको नाम र तस्बिर समावेश भएका ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिनेछ। मतदाताहरूलाई मतदान प्रक्रियाबारे जानकारी गराउन र अभ्यासको अवसर दिन ५ वटा उपकरण नमुना मतदान (मक भोट) का लागि छुट्याइएको छ। यस निर्वाचनमा देश तथा विदेशबाट आएका करिब ४ हजार प्रतिनिधिहरूले मतदान गर्नेछन्। विदेशमा रहेका प्रतिनिधिहरूका लागि भने मोबाइल एपमार्फत नै मतदान गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

महाधिवेशनबाट पार्टीको सर्वोच्च पद सभापतिमा रवि लामिछाने भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। पहिलो चरणको यो निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्यहरू चुनिएर आउनेछन्। उपसभापति, महामन्त्री लगायतका अन्य महत्वपूर्ण पदाधिकारीहरूको चयन भने दोस्रो चरणमा तिनै निर्वाचित ९९ जना केन्द्रीय सदस्यहरूका बीचबाट गरिने व्यवस्था छ।