बुधबार, १४ असोज २०८३
बुधबार, १४ असोज २०८३ · राजनीति
काठमाडौं, असोज १४ । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर स्वदेश फर्किनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले उठाएको ‘जलवायु न्याय’को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी गर्नुभएको छ ।
बुधवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र साहको सम्बोधन र आफूले विभिन्न मञ्चमा राखेका धारणाले नेपालको कुटनीतिक छवि उच्च बनाएको दाबी गर्नुभएको हो । परराष्ट्रमन्त्री खनालले महासभाको दौरान जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय मुलुकमा पारेको असरलाई ‘हिमालयन सुनामी’को रूपमा चित्रण गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । विशेषगरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि उहाँले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा आर्थिक र प्राविधिक सहयोगका लागि माग गर्नुभएको थियो । उहाँकाअनुसार नेपालले अब केवल आपत्कालीन राहतमा मात्र सिमित नभई क्षति न्युनिकरणका लागि ‘जलवायु वित्त’ र ‘क्षतिपूर्ति कोष’ को प्रभावकारी परिचालनमा जोड दिएको छ ।
यस भ्रमणका क्रममा नेपालले तीन नयाँ देश–ग्रेनाडा, नामिबिया र सेनेगलसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ । जससँगै नेपालको कुटनीतिक सम्बन्ध भएका मुलुकहरूको संख्या १८८ पुगेको छ । साथै, विभिन्न देशसँग कुटनीतिक तथा सेवा राहदानी वाहकका लागि भिसा छुट गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उहाँले भन्नुभयो, ‘यसपटक हामी फरक परिस्थितिमा संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी भई फर्किएका छौँ । नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम, नेपाली नागरिकको समृद्धि र सुशासनप्रतिको आकांक्षा तथा विश्वका समसामयिक मुद्दामा नेपालको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रश्तुत गर्ने अवसर प्राप्त भयो । विशेषगरी, हालै नेपालले भोगेको त्रासदीपूर्ण भोटेकोशी बाढी, जसलाई हामीले ‘हिमालयन सुनामी’का रूपमा लिएका छौँ, ले जलवायु न्यायको विषयलाई विश्वमञ्चमा उच्च प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता थप स्पष्ट गरेको छ । सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहज्यूले संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभाको जनरल डिबेटमा गर्नुभएको सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका प्रमुख विषयहरू प्रभावकारी रूपमा प्रश्तुत भएका छन् । लस एण्ड ड्यामेज फन्डलगायत जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन तथा जलवायु न्यायलाई व्यवहारमा उतार्न उहाँले गर्नुभएको आह्वान महत्वपूर्ण रहेको छ । यसै क्रममा नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै विभिन्न उच्चस्तरीय बैठक, समारोह तथा द्विपक्षीय भेटवार्तामा सहभागी भएका छौँ । भोटेकोशी बाढीपश्चात् खोज, उद्धार, राहत तथा सहयोगमा योगदान पु¥याउने छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति नेपाल र नेपाली नागरिकका तर्फबाट आभार व्यक्त गर्दै आगामी पुनर्निर्माणका लागि थप सहयोगको आग्रहसमेत गरिएको छ । संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ सत्रका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको सम्बोधन तथा विभिन्न बहुपक्षीय बैठकमा भएको सहभागिता र छलफलबाट नेपालको कुटनीतिक छवि थप सुदृढ भएको छ । साथै, नेपालको प्रस्ताव र दृष्टिकोणप्रति विश्व समुदाय सकारात्मक रहेको अनुभूति भएको छ । यसबाट आगामी दिनमा नेपालको कुटनीतिलाई थप प्रभावकारी र सशक्त बनाउँदै राष्ट्रिय हित प्रवद्र्धनमा ठोस योगदान पु¥याउने स्पष्ट आधार तय भएको विश्वास लिएको छु ।’
प्रधानमन्त्री साहको सम्बोधनको चर्चा गर्दै मन्त्री खनालले उक्त सम्बोधन यस वर्षको महासभाको सबैभन्दा बढी हेरिएको र चासो लिइएको भाषणमध्ये एक बनेको बताउनु भयो । उहाँले संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) ले बाढीपीडितका लागि घोषणा गरेको आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै अन्य अन्तर्राष्ट्रिय समुदाय पनि पुनर्निर्माणमा सकारात्मक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
नानिचासँगै सकियो यो वर्षको इन्द्र जात्रा (तस्विरहरु)
२ घण्टा अगाडि